थ्री–नेसन्स कपको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेल्यो। शनिबार भएको खेलमा बंगलादेशसँग गोलरहित बराबरी गरेको नेपालले कपको फाइनलमा स्थान त बनायो तर, अन्तर्राष्ट्रिय खेलमा लामो समयदेखिको गोलको खडेरी चिर्न सकेन।
यससँगै नेपाल आफ्नो पछिल्ला ८ खेलमा विपक्षीको पोष्टमा एक गोल पनि गर्न असमर्थ रह्यो। समूह चरणको आफ्नो पहिलो खेलमा पनि नेपालले कीर्गिस्तान ओलम्पिक टोलीसँग गोलरहित बराबरी खेलेको थियो। ३ टोली सम्मिपलत कपमा २ खेलबाट २ अंक जोडेको नेपाल र २ खेलबाट ४ अंक जोडेको बंगलादेश फाइनलमा पुगेका हुन्।
नेपालले पछिल्लो पटक विश्वकप–२०२२ छनोट खेलमा चाइनिज ताइपेईविरुद्ध २ गोल गरेको थियो। नेपालका लागि दुबै गोल अञ्जन विष्टले गरेका थिए। त्यसपछि नेपालको सिनियर राष्ट्रिय टोलीले गोल गर्न सकेको छैन।
विश्वकप छनोटमा नेपालले अस्ट्रेलिया, जोर्डन, कुवेतसँग खेलेको थियो। ती खेलहरु नेपालले गोल गर्न सकेन। कुवेतसँग खेल्नुअघि म्यान्मासँग मैत्रीपूर्ण खेल खेलेको थियो। नेपालको गोल खडेरीले त्यहाँ पनि निरन्तरता पायो। त्यसपछि ढाकामा बंगलादेशसँग २ मैत्रीपूर्ण खेल खेलेको नेपालले गोलको खडेरी चिर्न सकेन।
थ्री–नेसन्स कप हुने निश्चित भएपछि ६ वर्षपछि घरेलु मैदानमा घरेलु दर्शकबीच खेल्ने नेपालले लामो समयदेखिको गोल खडेरी तोड्ने आशा गरिएको थियो। तर, कीर्गिस्तानसँगको नेपालको खेलले नेपाली दर्शकलाई निराश बनायो।
उसो त, थ्री नेसनस कपमा ३ खेल हुँदा एकमात्र गोल भएको छ, त्यो पनि आत्मघाती। बंगलादेशविरुद्धको खेलमा कीर्गिज टिमका डिफेण्डरले आत्मघाती गोल गरेका थिए। कपमा तीनवटै टिमले न त गतिलो आक्रमण बुनेको देख्न पाइयो न त उत्कृष्ट फिनिसिङ गरेको नै।
सोमबार नेपाल र बंगलादेशले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। उक्त खेलमा नेपालले गोलको खडेरी चिर्ने आशा गरिएको छ। नेपाली टिमका प्रशिक्षक बालगोपाल महर्जनले पनि फिनिसिङमा कमजोर भएको र त्यसलाई सुधार गर्ने बताएका छन्। त्यस्तै, बंगलादेशका प्रशिक्षक जेम्स डेले पनि गोल गर्नसबै टोली चुकेको बताएका छन्। उनले फाइनल खेलमा गोल हुने विश्वास व्यक्त गरे।