मेलम्चीको पानी काठमाडौंबासीको घर–घरमा आइपुगेको छ। आइतबार दिउँसोदेखि मेलम्चीको पानी काठमाडौं आइपुगेको हो।
उपत्यका खानेपानी बोर्डका अध्यक्ष सञ्जीव राणा, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मिलन शाक्यसहितले संयुक्त रुपमा महांकालचौर क्षेत्रमा भल्भ खोलेर पानी वितरणको शुभारम्भ गरेका हुन्।
सुरुङमार्फत् सुन्दरीजलमा झारिएको मेलम्चीको पानी प्रशोधन गरेर ४ स्थानमा रहेका ट्यांकीमा जम्मा गरिएको थियो। महांकालको ट्यांकीबाट देवकोटा सडक, बत्तिसपुतली, जयबागेश्वरी, चाबहिल, कुटुबहाल, सिफल, कालोपुल, एअरपोर्ट हाइट, धनवन्तरी मार्ग लगायत क्षेत्रका धाराहरुमा पानी पठाइएको छ।
बानेश्वर, मिनभवन र अनामनगरको पानी ट्यांकीमा जोडिएका वितरण लाइनबाट पानीको वितरण गरिएको छ। र, रातिबाट खुमलटारमा बनेको नयाँ ट्यांकीबाट पानी पठाइनेछ।
केयूकेएलका अनुसार प्रशोधन गरेर पिउन योप्य बनाइएको ४ करोड लिटर मेलम्चीको पानी वितरण लाइनमा हालिएको छ।
अब दुई–दुई दिनको अन्तरमा बालाजुस्थित पानीपोखरी, बाँसबारी र महाराजगञ्जस्थित पानी ट्यांकीहरूबाट पानी वितरण थालिनेछ। त्यसपछि कीर्तिपुर, ठिमी, भक्तपुरस्थित ट्यांकीहरूबाट पानी वितरण हुनेछ।
केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार यसै महिनाभित्र उपत्यकाबासीलाई दैनिक १७ करोड लिटर पानी वितरण हुनेछ। प्रत्येक घरमा दैनिक एक हजार लिटरसम्म पानी उपलब्ध गराइने राईले बताएका छन्।