बागलुङमा होली पूर्णिमाका अवसरमा लागेको मेलामा झडप हुँदा दुई जनाको मृत्यु भएको छ। बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा भएको यो घटनामा परी निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र सोही ठाउँका ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको हो।
मृत्युका विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरको टोली घटनास्थल पुगेको छ। प्रहरीको अनुसार घटना भएलगत्तै मगरको कमाण्डमा ११ जनाको टोली बुर्तिबाङ प्रस्थान गरेको हो। मृतकको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्यचौकीमा हिजो राति नै पठाइएको छ। उनीहरुको शव भिरबाट ५०० मिटर तल भेटिएको थियो।
मृतक कुँवर नेपाली कांग्रेस जिल्ला सदस्य हुन् भने दमाई क्रियाशील सदस्य। घटनामा १०–१२ जना बेपत्ता भएको भनिए पनि रातिसम्म सबै सम्पर्कमा आइसकेका छन्। स्थानीयवासीका अनुसार दिउँसोसम्म झडप भएको थिएन साँझ मदिरा खाएर मातेपछि युवाहरूको बीचमा भनाभन हुँदा झडप भएको थियो।
बागलुङका दर्लिङमा बर्सेनि फागु पूर्णिमाको दिन मेला लाग्छ। छिमेकी जिल्ला गुल्मी, प्युठान र पूर्वी रुकुमका युवाहरु समेत त्यहाँ होली मनाउन आउँछन्।