आइतबार राति भएको विश्वकप छनोटका खेलहरुमा इंग्ल्याण्ड, फ्रान्स, इटली र जर्मनी विजयी भएका छन्। समूह आईको खेलमा इंग्ल्याण्डले अल्वानियालाई २–० ले पराजित गरेको छ।
इंग्ल्याण्डका लागि ३८औं मिनेटमा ह्यारी केनले र खेलको ६३औं मिनेटमा मासोन माउन्टले गोल गरेका थिए। लगातार दुई खेलमा विजयी इंग्ल्याण्ड ६ अंकसमूहको शीर्षस्थानमा छ।
समूह आईको अर्को खेलमा पोल्याण्डले एन्डोरालाई र हंगेरीले सानमारिनोलाई समान ३–० ले पराजित गरेको छ। पोल्याण्डको जितमा रोवर्ट लेवान्डोस्कीले दुई र कारोल स्वीडेस्कीले एक गोल गरे।
समूह डी को खेलमा फ्रान्सले कजाखस्तानलाई २–० गोलले पराजित गरेको छ। फ्रान्सको जीतमा खेलको १९ औं मिनेटमा उसमान डेम्बेलेले गोल गरेका थिए। कजाखस्तानका सर्जी माल्यीले खेलको ४४औं मिनेटमा आत्मघाती गोल गरेका थिए।
उक्त खेलको दोस्रो हाफमा फ्रान्सका किलिएन एमबाप्पे पेनाल्टीमा चुकेका थिए। यस जीतसँगै फ्रान्स २ खेलबाट ४ अंकका साथ समूहको शीर्ष स्थानमा छ। पहिलो खेलमा फ्रान्सले युक्रेनसँग बराबरी खेलेको थियो। यसै समूहको अर्को खेलमा युक्रेनले फिनल्याण्डसँग १–१ को बराबरी खेलेको छ।
समूह सी मा इटलीले बुल्गेरियालाई २–० ले पराजित गरेको छ। इटलीको जीतमा आन्द्रे बेलोट्टीले पेनाल्टीमा ४३औं मिनेटमा पहिलो गोल गरे भने मानुएल लोकाटोलीले ८२औं मिनेटमा अर्को गोल गरे।
लगातार दोस्रो जितपछि २ खेलबाट ६ अंकहित इटली शीर्ष स्थानमा छ। स्विट्जरल्याण्डले पनि ६ अंक नै जोडे पनि इटली गोल अन्तरमा अघि छ। जेर्दान शाकिरीको दोस्रो मिनेटको गोलमा स्विट्जरल्याण्डले लिथुअनियालाई १–० ले पराजित गरेको छ।
समूह जे मा जर्मनीले रोमानियाविरुद्ध १–० गोलले हराएको छ। जर्मनीका लागी सर्जी नाब्रीले १७औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। लगातार दुई जितपछि ६ अंकसहित जर्मनी समूहको शीर्ष स्थानमा छ।