थ्री–नेसन्स कपको उपाधि नेपालले जितेको छ। दशरथ रंगशालामा भएको उपाधि भिडन्तमा बंगलादेशलाई २–१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो।
नेपालका लागि सञ्जोग राई, विशाल राई गोल गरेका थिए। शुरुवातबाट आक्रामक खेल पस्किएको नेपालले पहिलो हाफमा २ गोल गरेको थियो। खेलको १७ औं मिनेटमा सञ्जोग राईले गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि पनि एकपछि अर्को आक्रमण बुनेको नेपालले खेलको ४१ औं मिनेटमा दोस्रो गोल गरेको थियो। नेपालको अग्रता दोब्बर बनाउन विशाल राईले उत्कृष्ट गोल गरेका थिए।
तर, खेलको ८२ औं मिनेटमा गोल गर्दै बंगलादेश खेलमा फर्किएको थियो। बंगलादेशका लागि मेहबुब रहमानले हेडर गोल गरेका थिए। त्यसपछि खेलमा केही दबाबमा देखिएपनि नेपालले थप गोल खाएन र उपाधि सुरक्षित ग¥यो।
थ्री–नेसन्स कपको समूह चरणको दुई खेलमा गोल गर्न असमर्थ नेपालले फाइनल खेलमा गोल गर्दै अन्तर्राष्ट्रिय खेलमा लामो समयदेखिको गोल खडेरीको अन्त्य गरेको छ।
नेपालले आफ्नो पछिल्लो ८ अन्तर्राष्ट्रिय खेलमा (किर्गिस्तान यु–२३ सहित) गोल गर्न सकेको थिएन। नेपालले उपाधिसँगै ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ। उपविजेता बनेको बंगलादेशले ३ हजार अमेरिकी डलर पाएको छ।