नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले मंगलबार पुनरावलोकनको निवेदन दिँदै छ। मंगलबार बिहान ११ बजे सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिइने बताइएको छ।
सर्वोच्च अदालतले गत फागुन २३ गते केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरिदिएको थियो। सर्वोच्चका न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले फैसला गर्दै ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको थियो।
निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी दर्ता भएको थियो। तर, २०७५ जेठ ३ गते तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि उक्त पार्टीको नाम पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राखी निर्वाचन आयोगमा पेश गरेका थिए।
त्यसलाई निर्वाचन आयोगले मान्यता दिएको थियो। आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम दिएर अर्को पार्टी दर्ता गर्न दिएको जिकिरसहित कट्टेलले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। सोही रिटमा फैसला गर्दै प्रचण्ड र ओली नेतृत्वको नेकपा खारेजी हुने ठहर सर्वोच्चले गरेको थियो।
सो फैसला राजनीतिक भएको भन्दै माओवादी केन्द्र असन्तुष्ट छ।