माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिन उनी मंगलबार बिहान ११ बजे अदालत पुगेका हुन्।
बर्षमान पुन, हरिबोल गजुरेल, गिरीराजमणि पोखरेल, जनार्धन शर्मा सहित उनी अदालत पुगेका हुन्।
यसअघि गत फागुन २३ गते सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरिदिएको थियो।
सर्वोच्चका न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले फैसला गर्दै ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको थियो।