हालको सवारी चालक अनुमति पत्रको मापदण्डमा ट्रायल दिँदा सानो गल्तीले पनि ट्रायल फेल हुने गरेको छ। तर, अब मापदण्ड परिवर्तन हुने भएको छ। नयाँ मापदण्डमा पास वा फेल अंकबाट निर्धारण हुने भएको छ।
नयाँ मापदण्ड कार्यान्वयनमा आएमा सानो गल्तीले ट्रायल फेल हुने छैन। अब ट्रायल दिन जाँदा सवारी साधन चलाउनुभन्दा अगाडि के–के कुरामा ध्यान दिनुपर्छ भनेर पनि सोधिने भएको छ। शुरूमा सबैलाई १ सय अंक नै दिइन्छ। त्यसपछि गल्ती गर्दा नम्बर काटिँदै जाने र ६० प्रतिशतभन्दा कम अंक ल्याउने ट्रायल फेल हुन्छ। ६० वा सो भन्दा बढी प्रतिशत ल्याउने पास हुन्छ।
यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार ट्रायल दिँदा अनिवार्य पूरा गर्नुपर्ने टास्कमा धेरै अंक राखिने छ। सबै प्यारामिटरका लागि फरकफरक अंक दिइनेछ। मापदण्ड परिवर्तन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सैद्धान्तिक सहमति प्राप्त भएको यातायात उनले जानकारी दिएका छन्।
विभागले पुसमा कार्यविधि संशोधन गर्न मन्त्रालयलाई प्रस्ताव पेश गरेको थियो। मन्त्रालयबाट सैद्धान्तिक सहमति प्राप्त भएको जानकारी दिँदै उनले कार्यविधि संशोधन गरिने बताएका छन्।
त्यस्तै, लिखित परीक्षाको ढाँचा पनि केही परिवर्तन हुने भएको छ। तर, यो छलफलका क्रममा रहेकाले तत्काल लागू नहुने महानिर्देशक घिमिरे बताएका छन्। यी सबै विषयमा छलफल भइरहेको र यसबारे छिट्टै निर्णय हुने पनि उनले जानकारी दिए।