नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग संसदबाट विश्वासको मत लिन ५ दिन बाँकी रहेको आशय व्यक्त गरेका छन्। उनले प्रधानमन्त्री ओलीले २३ चैतभित्र संसदबाट विश्वासको मत लिनुपर्ने दाबी गरेका हुन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गुरुङले सर्वोच्च अदालतको संवैधानिक इजलासले ११ फागुनमा वर्तमान सरकारलाई ७६(१) अनुसार भने पनि २३ फागुनको फैसलाले ७६ (२) आकर्षित भएको जानकारी दिए। दल विधाजन गर्ने सर्वोच्चले फैसलाले संविधानको धारा १०० (२) आकर्षित हुने उनले बताए।
त्यसको ३० दिनभित्र सरकारले बैधानिकता कायम राख्न संसदबाट विश्वासको मत लिनुपर्ने गुरुङले दाबी गरेका छन्। ‘आज १८ गते भइसक्यो। २३ गते ३० दिन पुग्दैछ। ३० दिनभित्र विश्वासको मत लियो भने वैधानिकता हासिल हुनसक्छ,’ बैठकमा उनले भने,‘अन्यथा सरकारको संवैधानिक हैसियत के हुने हो भन्ने प्रश्न उठ्ने देखिन्छ।’