नीमा काफ्ले, नेपाली पत्रकारितामा यो नौलो नाम होइन। करिब २ दशकदेखि आफूलाई कर्मठ र व्यवसायिक पत्रकारका रुपमा परिचित गराउन सफल पत्रकार हुन् काफ्ले। उनले पत्रकारिता शुरु गरेको समयमा नेपाली पत्रकारितामा महिलाहरुको संख्या शून्य बराबर थियो।
नेपाली पत्रकारितामा पुरुषहरुको वर्चश्व रहेका बेला पत्रकारिता शुरु गर्नु एक महिलाको लागि चुनौतीपूर्ण थियो। पितृसतात्मक समाजमा विभिन्न समस्या र चुनौतीहरुको सामना गर्दै आफ्नो पहिचान बनाएकी काफ्ले पत्रकारिता क्षेत्रमा महिलाहरुका लागि प्रेरणाकाे स्रोत हुन्।
राजनीतिक, सामाजिक, आर्थिकका साथै मानवीय संवेदनाको चेत भएकी काफ्ले नेपाल पत्रकार महासंघको महिलातर्फकाे केन्द्रीय सचिव पदकाे उम्मेदवार हुन्। नेतृत्वदायी क्षमता भएकी उनले आफ्नो अनुभव र जोशलाई पत्रकारहरुको छाता संगठनबाट थप उजागर गर्ने उद्देश्यले महिलातर्फ केन्द्रीय सचिव पदमा उम्मेदवार दिएको बताएकी छिन्।
परिवर्तनको नारा बोकेर सुदूरपश्चिमबाट उदाएकी काफ्लेले व्यवसायिक पत्रकारितामार्फत् पत्रकारिता क्षेत्रमा पनि लैंगिक समानताका लागि आवाज उठाउँदै आएकी थिइन्। कार्यपालिका, व्यवस्थापिका र न्यायापालिकाबीचको शक्तिपृथकीकरणको सिद्दान्तमा पत्रकारितामार्फत् झक्झकाउनका लागि काफ्लेको उल्लेख्य योगदान छ।
कञ्चनपुरको चुरै टाइम्स दैनिकीबाट २०६० सालदेखि पत्रकारिता शुरु गरेकी काफ्ले हालसम्म पनि निरन्तर यस क्षेत्रमा कलम चलाइरहेकी छिन्। विभिन्न पत्रपत्रिकामा लैंगिक समानता, राजनीति, सामाजिक संरचनालगायतका अनेक विषयमा उनका लेख तथा विचार प्रकाशित छन्। उनले महेन्द्रनगरमै रहँदा एभिन्यूज टेलिभिजनको समाचार संवाददाताको काम गरेकी थिइन्।
संवाददाताको रुपमा उत्कृष्ट काम गरेकी उनले त्यसपछि एभिन्यूज टेलिभिजनकै केन्द्रीय कार्यालय, काठमाडौंमा आएर संवाददाता, प्रस्तोता र जिल्ला डेस्कको जिम्मेवारी सम्हालेकी थिइन्। आफ्नो पेशाप्रति कर्मठ काफ्लेको पत्रकारिता जीवनले एकपछि अर्को छलाङ मार्न सफल भयो। उनी न्यूज २४ हुँदै हाल नेपाल टेलिभिजनमा कार्यरत छिन्। उनीसँग केही समय यूएन जस्तो अन्तर्राष्ट्रिय संस्थामा रिपोर्टिङ अफिसरका रुपमा काम गरेको अनुभव पनि छ।
पत्रकारिता क्षेत्रमा महिलाले भोगेका समस्या समाधानका लागि पनि आफूले आवाज उठाउने प्रतिबद्धता उनले व्यक्त गरेकी छिन्। सीप, ज्ञान र क्षमताका कारण श्रमजीवि र व्यवसायिक पत्रकारितामा आफूलाई बलियो खम्बाका स्थापित गराएकी काफ्ले नेपाल पत्रकार महासंघको महिलातर्फकाे केन्द्रीय सचिव पदका लागि बलियो उम्मेदवार हुन्।