इण्डियन प्रिमियर लिग (आइपिएल)को सिजन २०२१ दिल्ली क्यापिटल्सले एक युवा कप्तान पाएको छ। १४ औं सिजनको आइपिएलमा दिल्लीको कप्तानी रिषभ पन्तले गर्ने भएका छन्।
रिषभ २३ वर्ष ६ महिनामा आइपिएल खेल्ने टोलीको कप्तान भएका हुन्। तर, यस आइपिएल टि–२० क्रिकेट लिगमा सबैभन्दा कम उमेरमा कप्तान बन्ने सौभाग्य विराट कोहलीले पाएका छन्।
कोहली २२ वर्ष ६ महिनाको उमेरमा रोयल च्यालेन्जर्स् ब्याङ्ग्लोरको कप्तान बनेका थिए। रिषभ पन्त आइपिएलमा सबैभन्दा कम उमेरमा कप्तान बन्ने खेलाडीको पाँचौं नम्बरमा छन्।
दिल्ली क्यापिटल्सका लागि सबैभन्दा कम उमेरमा कप्तान बन्ने अवसर श्रेयस अय्यर पाएका थिए। दिल्लीको कप्तानीको जिम्मेवारी पाएका बेला उनी जम्मा २३ वर्ष ४ महिनाका थिए। हालै कप्तानको जिम्मा पाएका पन्त दोस्रोमा परेका छन्।
आइपिएलमा सबैभन्दा कम उमेरमा कप्तान बन्ने खेलाडीको दोस्रो स्थानमा स्टिभ स्मिथ छन्। उनले २२ वर्ष ११ महिनाको उमेरमा कप्तानी पाएका थिए।
त्यस्तै, तेस्रो स्थानमा सुरेश रैना छन्। उनले २३ वर्ष ३ महिनाको हुँदा कप्तानी गर्ने मौका पाएका थिए। कम उमेरमा कप्तान बन्ने खेलाडीको चौथो नम्बरमा श्रेयस अय्यर छन्। पाँचौं नम्बरमा रिषभ पन्त रहेका छन्।