स्वास्थ्य सामग्री खरिद प्रकरणमा अख्तियारको दुरुपयोग गर्ने सरकारी अधिकारीलाई कारबाही गर्न संसदको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।
समितिले २०७६ चैत १२ गते स्वास्थ्य सामग्री खरिद प्रक्रिया अघि बढाउँदा विशेष परिस्थिति भनी सार्वजनिक खरिद ऐन र नियमावली विपरीत अधिकार प्रयोग गरेको पाइएको ठहर गरेको थियो। सोही प्रकरणमा संलग्नहरुको छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो।
पुष ३ गते बसेको लेखा समितिको बैठकले कोरोना कहरमा स्वास्थ्य सामाग्री खरिदको प्रक्रिया नियमअनुसार नभएको निश्कर्ष निकालेको थियो। सोही दिन समितिले यो प्रकरणमा विस्तृत छानविन गरी कारबाही गर्न अख्तियारलाई पत्र पठाउने निर्णय गरेको थियो।
५ पुसमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएपछि लेखा समितिले अख्तियारलाई पत्र पठाउन पाएको थिएन। संसद पुनर्स्थापना भएपछि बसेको समिति बैठकले तीन महिनाअघिकै निर्णय कार्यान्वयन गर्न पत्र पठाएको हो।