नेपाल कम्युनिष्ट पार्टी छुट्याएर एकीकरणअघिको अवस्थामा पुर्याइदिने सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुने भएको छ। सर्वोच्चले निस्सा प्रदान गरेमा यो मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्ने छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसला गरेपछि गत मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनरावलोकनको निवेदन दिएका थिए। सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता बदर गरिदिएको थियो।
सर्वोच्च अदालतले गत फागुन २३ गते केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरिदिएको थियो। सर्वोच्चका न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले फैसला गर्दै ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको थियो।
निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी दर्ता भएको थियो। तर, २०७५ जेठ ३ गते तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि उक्त पार्टीको नाम पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राखी निर्वाचन आयोगमा पेश गरेका थिए।
त्यसलाई निर्वाचन आयोगले मान्यता दिएको थियो। आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम दिएर अर्को पार्टी दर्ता गर्न दिएको जिकिरसहित कट्टेलले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। सोही रिटमा फैसला गर्दै प्रचण्ड र ओली नेतृत्वको नेकपा खारेजी हुने ठहर सर्वोच्चले गरेको थियो।