इंग्लिस क्लब म्यानेचेस्टर सिटीले बार्सिलोनाका कप्तान लियोनल मेसीलाई क्लब भित्र्याउने चाहना यसअघि नै व्यक्त गरिसकेको छ। मेसी सिटीमा जाने विषय बेलाबेला चर्चामा आउँछ अनि सेलाउँछ।
मेसी र सिटीका प्रशिक्षक पेप ग्वार्डिवलाको सम्बन्धका कारण पनि मेसीले सिटीबाट फुटबल खेल्ने सम्भावना प्रबल रहेको विश्लेषण गरिन्छ। सम्भवतः सिजनको अन्त्यमा मेसीले बार्सिलोना छोड्नेछन्। बार्सिलोनाबाट स्वतन्त्र भएपछि मेसीको मुख्य रोजाइकाे क्लब सिटी हुने फुटबल विश्लेषक बताउँछन्।
म्यानचेस्टर सिटीले यो समरमा आफ्नो स्ट्राइकर सर्जियो अगुइरोलाई क्लबाट बाहिरिन बाटो खुला गरिदिएको छ। सिटीले अगुइरोको ठाउँमा बोरुसिया डर्टमण्डका स्ट्राइकर तथा उदीयमान युवा खेलाडी इर्लिङ हालाण्डलाई भित्र्याउने तयारी गरेको छ।
अनुभवी तथा कीर्तिमानी फुटबलर लियोनल मेसी र विश्व फुटबलमा तहल्का पिट्ने गरी उदाइरहेका हालाण्डलाई भित्र्याउनु आर्थिकरुपमा सहज छैन। तर, पनि सिटीले यी दुई स्टारलाई क्लबमा ल्याउने हरसम्भव प्रयास गर्ने बताइएकाे छ।
यदि मेसी र हालाण्डलाई कुनै पनि क्लबले एकैसाथ मैदान उतार्न सक्छ भने त्यो क्लबलाई विश्वका कुनै पनि उपाधि जित्नबाट कसैले रोक्न नसक्ने फुटबल विश्लेषकहरुले बताउँछन्। यदि सिटीकाे याेजना सफल भएमा मेसीकाे अनुभव र हालाण्डकाे जाेशले क्लबले नयाँ उचाइ चुम्ने सहज अनुमान गर्न सकिन्छ।