गत चैत्र १२ गते सर्लाहीको मलंगवा–१० का २५ वर्षीय सुशीलकुमार यादवको शव टाउको काटिएको अवस्थामा फेला परेको थियो। शव भेटिएको केही पर उनको टाउको पनि भेटिएको थियो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले यादवको हत्यामा संलग्न रहेको आरोपमा सोही दिन दुई जनालाई पक्राउ ग¥यो। पक्राउ पर्नेमा मलंगवा–१० कै ४५ वर्षीय विमलकान्त पाठक र भारत बिहारस्थित सीतामढीका ४१ वर्षीय अशोक झा थिए। प्रहरीका अनुसार पाठक र झा मामा भान्जा हुन्।
मृतक यादवले पाठकको घर भएको चोरी गरेको र उनकी छोरी जिस्काएको कारण उनको हत्या भएको प्रहरी अनुसन्धानमा खुलेको छ। प्रहरीका अनुसार यादवको हत्या हुनुअघि बुधबार राति पाठकले उनलाई काम छ भनेर आफ्नो घर लगेको र उनीहरु तीनै जनाले सँगै बसेर लागुपदार्थ सेवन गरेका थिए। यादवको हत्या गर्ने योजनासहित पाठक र उनका भान्जाले उनलाई घर लगेका थिए।
लागुपदार्थमा लठ्ठ भएपछि मामा–भाञ्जाले यादवलाई गाई गोठमा लगेर उनको मुख छोपेर खुकुरी प्रहार गरीे घाँटि काटेका थिए। प्रहरीका अनुसार सुशीलले ६ महिनाअघि विमलकान्तको घरमा चोरी गरेको रहेछ। हत्या गरेको केही दिन अघिमात्रै पनि चोरी गरेको थियो। त्यही कुरामा उनीहरूबीच पटकपटक झगडा हुने गरेको थियो। त्यसैले उनको हत्या गर्ने योजना बनेको प्रहरीले जानकारी दिएको छ।
पाठकले आफ्नी छोरी जिस्किाएका कारण यादवको हत्या गरेको बयान दिएका छन्। यादवले छोरीलाई ३–४ महिनादेखि नै जिस्काउने गरेको र गिद्धे नजर लगाएको कारण हत्या भएको प्रहरीको अनुमान छ।
प्रहरीले जिल्ला अदालत सर्लाहीबाट सात दिन म्याद थपेर अनुसन्धान गर्न अनुमति लिएको जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ।