काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणको उद्घाटन गरिएको छ। काठमाडौंको भृकुटीमण्डपमा निर्माण गरिएको धारा खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आयोजनाको औपचारिक रूपमा उद्घाटन गरेकी हुन्।
भृकुटीमण्डपमा मेलम्चीबाट आएको पानी २४ सैं घण्टा वितरण हुने गरी धारा बनाइएको छ। सार्वजनिक उपभोगका लागि यहाँ सधैं पानी छाडिने बताइएको छ।
सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी चैत १५ देखि काठमाडौंमा वितरण सुरु गरिएको छ। हाल काठमाडौं उपत्यकाका १५ हजार घरधुरीमा परीक्षणका रुपमा पानी वितरण गरिएको मेलम्ची खानेपानी आयोजना विकास समितिका प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिए।
काठमाडौंमा पानी संकट टार्न सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट पानी ल्याइएको छ। मेलम्ची आयोजनाबाट ल्याइएको पानी काठमाडौं र ललितपुरका विभिन्न स्थानमा केही दिनदेखि वितरण गरिराखिएको छ।