एएफसी कप २०२१ प्रारम्भिक चरणअन्तर्गत त्रिभुवन आर्मी क्लब र श्रीलंका पुलीसबीच यही चैत २५ गते प्रतिस्पर्धा हुने भएको छ।
दशरथ रंगशालामा दिउँसो ३ बजे हुने उक्त खेल नकाउटका आधारमा खेलाइने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका प्रमुख ब्रजेश महर्जनले जानकारी दिएका छन्।
उक्त प्रतियोगितामा भाग लिन श्रीलंकन टोली चैत २२ र २३ गते काठमाडौं आउने भएको छ। उक्त प्रतियोगिताका हेर्नका लागि विशिष्ट श्रेणीका लागि ५०० रुपैयाँ र साधारणतर्फ ३०० रुपैयाँ शुल्क कायम गरिएको बताइएको छ।
सो प्रतियोगिताका तयारीका लागि आर्मीका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ। प्रतियोगिताका लागि २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए। आर्मी क्लबले श्रीलंकका टिमलाई सशक्त प्रतिस्पर्धी टिमकैरुपमा लिएको जानकारी दिएको छ।