प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ। बैठकले सरकार गठनको अलमललाई चिर्दै आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णयस्वरुप प्रधानमन्त्री ओलीको राजीनामा मागेको हो।
आफूले विघटन गरेको संसद अदालतबाट पुनस्र्थापना भएपछि प्रधानमन्त्रीले नैतिक र राजनीतिक रुपमा राजीनामा दिनुपर्ने भए पनि नदिएकाले राजीनामा मागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
माओवादी केन्द्रले कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि प्रस्ताव गर्दै आएको छ। कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्ष पाि देउवाको नेतृत्वमा सरकार गठन गर्न सहमत छ। तर, जनता समाजवादी पार्टीको निर्णयमा सरकार गठनको प्रक्रिया निर्भर रहेकाले कांग्रेसले अग्रसरता देखाएको थिएन।
यसैबीच, पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिपक्षीय धर्म निभाउने कांग्रेसको संकेत सराहनीय भएको बताएका छन्।
भट्टराईले ट्विट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने कांग्रेसको निर्णयलाई डा. भट्टराईले सराहनीय भनेका हुन्। ‘अन्ततः प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ। अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं,’ भट्टराईले ट्विटरमा लेखेका छन्।
‘आ–आफ्ना दलका फरक एजेण्डा हुन्छन् तर, ती सबै भन्दामाथि देश, जनता र लोकतन्त्रको आवश्यकता/प्रथमिकता हुन्छ। आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है!’ उनले थप लेखेका छन्।