प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको प्रतिगामी कदमविरुद्ध तत्कालिन समयको नेकपाका प्रचण्ड–नेपाल समूह, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायत नागरिक आन्दोलनले पनि विरोध र प्रदर्शन गरेका थिए। उक्त मुद्दा सर्वोच्च अदालतले पुगेपछि सबैको ध्यान सर्वोच्चतिर केन्द्रित भएको थियो।
सर्वोच्च अदालतको संवैधानिक इजालसले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै प्रतिनिधिसभाको बैठक बोलाउन सरकारलाई निर्देशन दियो। त्यतिबेला अन्य राजनीतिक दल र नेकपाभित्रकै नेताहरुको आक्रोश देख्दा सवोच्चको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको बिदाइ हुने लगभग पक्काजस्तो देखिन्थ्यो।
त्यसमाथि आफैंले विघटन गरेको प्रतिनिधिसभा पुनर्स्थापना भएपछि ओलीले नैतिकताका आधारमा राजीनामा दिन्छन् भन्ने धेरैले आँकलन गरेका थिए। तर, ओलीले संसद फेस गर्न तयार रहेको सन्देश थिए। तर, फागुन २३ गते सर्वोच्च अदालतले नेकपा खारेज गरिदियो। नेकपा खारेज भएसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँतिएपछि नेपालको राजनीतिले अर्कै मोड लियो।
नेकपामा रहँदा प्रचण्डको पक्षमा उभिएका माधवकुमार नेपाल, झलनाथ खनाल, योगेश भट्टराई, घनश्याम भुषाल, भीम रावललगायतका नेताहरु एमालेमै बस्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भयो। उनीहरुले एमालेमै बसेर ओलीविरुद्ध लड्ने निर्णय पनि गरे। नेकपा खारेज नभएको अवस्था थियो भने ओली सरकारको बहिगर्मन सहज हुने थियो।
त्यसपछिको राजनीतिक घटनाक्रमहरु सरकार परिवर्तनबाट अन्तै मोडिए। सरकार परिवर्तनमा मुख्य अग्रसरता देखाउनुपर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस पनि पर्ख र हेर भनेर बस्यो। माओवादी केन्द्र कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहमत रहेको बताइन्छ। तर, ३३ सिट रहेको जसपाले के गर्ला भनेर सत्ता समिकरण अन्यौलमा थियो।
नेपाली कांग्रेस अहिले आफ्नै नेतृत्वमा सरकार गठन गर्न कस्सिएको छ। शुक्रबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिसकेको छ। पार्टीभित्र पनि सरकारमा जानुपर्ने दबाब बढेको र सभापति शेरबहादुर देउवा पनि सरकारको नेतृत्व गर्न इच्छुक भएका कारण कांग्रेसले सरकार गठन गर्न कम्मर खसेको एक नेताले बताए।
कांग्रेसका नेताहरुले सरकार गठनमा माओवादी केन्द्रको पूर्ण समर्थन रहने बताइरहेका छन्। उता माओवादी केन्द्रले पनि केही दिनभित्र ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। अब, कांग्रेस र माओवादीले सत्ता समिकरणका लागि जसपालाई मनाउनुपर्ने छ।
यसो त, पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिपक्षीय धर्म निभाउने कांग्रेसको संकेत सराहनीय भएको बताइसकेका छन्। जसपा अहिले सरकारमा जाने वा नजाने भनेर दुई कित्तामा विभाजित छ। तर, कांग्रेस र माओवादीले जसपासँग बसेर ठोस वार्ता गरे उनीहरु अब बन्ने सरकारमा सहभागी हुने बताइएको छ।
माओवादी केन्द्रले कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि प्रस्ताव गर्दै आएको छ। कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्ष पनि देउवाको नेतृत्वमा सरकार गठन गर्न सहमत छ। त्यसकारण अब सरकार परिवर्तन हुने सम्भावना एकाएक बढेको छ।