प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्री केपी शर्मा ओली नागरिकको हक खोस्ने र संवैधानिक संकट निम्त्याउने शासक भएको टिप्पणी गरेका छन्। प्रधानमन्त्री ओलीले नागरिकलाई उनीहरुको हकबाट बञ्चित गरेको, संविधानमाथि खेलवाँड गरेको आरोप नेता खाँडको छ।
शनिबार राप्ती समाज क्यानाडाले आयोजना गरेको नेपाली कांग्रेस पूर्वमहामन्त्री एवं पूर्वगृहमन्त्री स्वर्गिय खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसको अवसरमा भर्चुअल मिटिङमा बोल्दै उनले प्रधानमन्त्री ओलीले असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद विघटनको प्रसाय गरेर जनताको हक अधिकार खोस्ने दुष्प्रयास गरेको आरोप लगाए। संसद् ब्यूँतिएपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने ओलीले त्यसो नगरेका कारण कांग्रेसले छिट्टै उनको विकल्प खोज्ने पनि प्रमुख सचेतक खाँडले स्पष्ट पारे।
जुममार्फत भएको भर्जुअल मिटिङमा नेता खाँडले खुमबहादुर खड्कालाई स्मरण गर्दै उनीप्रती हार्दिक श्रद्धासुमन पनि व्यक्त गरे। ‘खड्का एक अदम्य इच्छाशक्ति भएको व्यक्ति हुनुहुन्थ्याे, उहाँले पार्टीलाई गतिशील बनाउन महत्वपूर्ण खेल्नुभएको थियो,’ खड्काले भने।
युवाअवस्था देखि नै राजनीतिमा सक्रिय खड्का विपिसँग २०३३ साल पुसमा सहमति, सहकार्य र एकताको भावना बोकि नेपाल आएको प्रसंग जोड्दै नेता खाँडले नेपाली कांग्रेसका लागि खड्काले दिएको योगदान स्मरणीय रहेको बताए।
प्रजातन्त्र भनेको ‘Beginning of the moment’ रहेछ भन्दै उनले कांग्रेस कमजोर भएमा लोकतन्त्र कमजोर हुने र लोकतन्त्र कमजोर भएमा देश र जनता कमजोर हुने जानकारी दिए। कार्यक्रमको सञ्चालन राप्ती समाज क्यानडाका सदस्य निराजन थापा र तरुण दल राप्ती गाउँपालिका अध्यक्ष आशिष पौडेलले गरेका थिए।