इटालियन लिग सिरी ए फुटबलमा गय राति १० खेलहरु भएका छन्। तीमध्ये केही खेलहरु उपाधि दौडमा केन्द्रीत थिए। उपाधि दौडमा रहेका शीर्ष टोलीहरुको खेलमा इन्टर मिलान, एटलान्टा र नापोली विजयी भएका छन्।
त्यसैगरी, युभेन्टस र एसी मिलानले बराबरी खेलेका छन्। युभेन्टसले टोरिनोसँग बराबरी खेलेको हो। खेलको १३ औं मिनेटमा फेडेरिको चिइसाले गोल गर्दा युभेन्टसले घरेलु टोली टोरिनोविरुद्ध शुरुवाती अग्रता बनाएको थियो।
तर, खेलको २७ औं मिनेटमा गोल गर्दै एन्टोनियो सानाब्रियाले टोरिनोलाई खेलमा फर्काए। ४६ औं मिनेटमा सानाब्रियाले व्यक्तिगत दोस्रो गोल गर्दै टोरिनोले पहिलो हाफमा युभेन्टसविरुद्ध अग्रता बनायो।
तर, खेलको ७९ औं मिनेटमा गोल गर्दै युभेन्टसलाई हारबाट जोगाए। बराबरीसँगै युभेन्टस अंक तालिकाको चौथो स्थानमा छ। युभेन्टसले २८ खेलबाट ५६ अंक जोडेको छ। युभेन्टस शीर्षस्थानकोे इन्टर मिलानभन्दा १२ अंकले पछि छ। लिगमा समग्रमा ३७ औं पटक र पछिल्ला १० सिजन लगातार उपाधि जित्ने युभेन्टसको सपना कमजोर बन्दै गएको छ।
शीर्षस्थानमा अग्रता बनाउने क्रममा गय राति भएको खेलमा इन्टर मिलानले बोलोग्नालाई १–० गोलले पराजित गरेको थियो। इन्टर मिलानका लागि रोमेलु लुकाकुले निर्णायक गोल गरेका थिए। इन्टर मिलानले सिरी ए को उपाधि यात्रामा बलियो दाबेदारी प्रस्तुत गरेको छ।
२८ खेलबाट ६८ अंक जोडेको इन्टरले लिगमा २ खेलमा मात्र हार बेहोरेको छ। लिगको दोस्रो स्थानमा एसी मिलान छ। गय रातिको खेलमा साम्पडोरियासँग १–१ गोलको बराबरी खेलेको एसी मिलानले २९ खेलबाट ६० अंक जोडेको छ। तेस्रो स्थानमा रहेको एटलान्टाले २९ खेलबाट ५८ अंक बटुलेको छ।