नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरी नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) को टेक्निकल कमिटीले कुवेतका अब्दुल्लाहलाई प्रशिक्षक नियुक्त गर्न सिफारिस गरेपछि उनलाई प्रशिक्षकको जिम्मेवारी दिइएको हो।
एन्फा स्रोतका अनुसार पत्रकार सम्मेलनमार्फत अलमुताइरीलाई प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिने तयारी भइरहेको छ। यसअघि नेपाली टिमको मुख्य प्रशिक्षक बालगोपाल महर्जन थिए। महर्जनको नेतृत्वमा नेपालले गत साता थ्री नेसन्स कप जितेको थियो।
अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप छनोटका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक चाहिने नियम ल्याएको थियो। त्यसै नियमलाई कार्यान्वयन गर्ने गरी अब्दुल्लाहलाई प्रशिक्षक बनाइएको हो। नेपालले विश्वकप छनोटअन्तर्गत आगामी जुनमा तीन खेल खेल्न बाँकी छ। तीन वटै खेल कुवेतमा हुनेछन्।