प्रधानमन्त्री ओलीलाई बिदा गरी आफ्नै नेतृत्वका सरकार गठन गर्ने निर्णय गरेको कांग्रेसले राजनीतिक छलफलमा सक्रियता बढाएको छ। सरकार टिकाउने वा ढाल्ने भन्ने विषयमा निर्णायक देखिएको जनता समाजवादी पार्टी(जसपा)लाई मनाउन कांग्रेस सक्रिय देखिएको छ।
आइतबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जसपाका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। पौडेल ठाकुरलाई भेट्न हात्तीवनस्थित उनकै निवास गएका हुन्। दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी भएको बताइए पनि छलफल नयाँ सरकार गठनमा केन्द्रीत रहेको बुझ्न सकिन्छ। उनीहरूबीच करिब आधा घन्टा कुराकानी भएको थियो।
शनिबार वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गर्ने जानकारी दिएका थिए। कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार बनाउन नेता पौडेल व्यक्तिगतरुपमा पनि बढी नै सक्रिय भइरहेका छन्। उनले यसअघि पनि पटकपटक कांग्रेसले जसपा र माओवादी केन्द्रसँग वार्ता गरेर नयाँ सरकार गठन गर्नुपर्ने बताउँदै आएका थिए।