कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार धरापमा परेको छ। प्रमुख सत्ता साझेदार नेकपा (एमाले) का मन्त्रीहरुले राजीनामा दिने निर्णय गरेपछि शाहीको सरकार धरापमा परेको हो।
एमाले अध्यक्ष केपी शर्मा ओली समूहले शाहीलाई दिएको समर्थन फिर्ता लिने घोषणा यसअघि नै गरेको थियो। आइतबार नेता माधवकुमार नेपाल समूहका सांसदसहित बसेको संसदीय दलको बैठकले नयाँ सरकार गठनका लागि अघि बढ्ने निर्णयगरेपछि शाही अल्पमतमा पर्ने भएका हुन्।
नयाँ सरकार बनाउन एमालेले आफ्ना मन्त्रीहरूलाई सामूहिक राजीनामा दिन लगाएको छ। सोमबारसम्ममा एमालेका मन्त्रीहरुले राजीनामा दिने बताइएको छ। शाहीको मन्त्रिमण्डलमा एमालेबाट प्रकाश ज्वाला अर्थमन्त्री, दल रावल सामाजिक विकास मन्त्री र नन्दसिंह बुढा उद्योग मन्त्री छन्।