आज फेरि देशभर वायु प्रदुषण बढेको छ। आइतबार वर्षाको कारण प्रदुषण केही घटे पनि सोमबार फेरि बढेको हो। योसँगै काठमाडौं विश्वको वायु प्रदुषित शहरहरूको सूचीमा एक नम्बरमा परेको छ।
वायु प्रदुषणबारे मापन गर्ने आईक्यू एयर डट कमले सोमबार बिहान गरेको अपडेटमा काठमाडौंलाई विश्वको सबैभन्दा धेरै वायु प्रदुषित शहरको एक नम्बरमा राखेको छ।
काठमाडौंमा अहिले तुवाँले ढाकेको छ। घाम लाग्न सकेको छैन। काठमाडौंको भिजिबिलिटी १५ सय मिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। स्विट्जरल्याण्डको एआईक्यू एयरका अनुसार काठमाडौंको वायु प्रदूषण ३३१ पुगेको छ। एक्यूआई ३ सय भन्दा माथि पुग्नुलाई स्वास्थ्यका लागि हानिकारक हुन्छ। सामान्यत एक्यूआई ५० भन्दा कम हुनुलाई राम्रो वायु मानिन्छ।
आगलागी र डढेलोसँगै मुलुकभर पश्चिमी वायुको प्रभावले प्रदुषित हावा काठमाडौंको आकाशमा आएर धुप्रिएको मौसमविद्ले बताएका छन्।
वातावरण विभागको तथ्याङ्कअनुसार सोमबार बिहान सबैभन्दा धेरै वायु प्रदुषण धनगढीमा छ। धनगढी एयर क्वालिटी इन्डेक्स (एक्युआई) ४२९ पुगेको छ। दोस्रो नम्बरमा चितवनको भरतपुर छ। त्यहाँको एक्युआई ३९८ छ।