स्पेनिस ला लिगा फुटबल अन्तर्गत गयराति भएको खेलमा एथ्लेटिको मड्रिडले सेभियासँग हार बेहो¥यो। तालिकाको शीर्षस्थानमा रहेको एथ्लेटिको चौथो स्थानको सेभियासँग १–० गोलले हारेको हो।
एथ्लेटिको मड्रिडका लागि यो हार निकै घातक मानिएको छ। सिजनको शुरुवात उत्कृष्टरुपमा गरेको एथ्लेटिकोले कुनै समय शीर्षस्थानमा १० अंकको अग्रता बनाएको थियो। तर, उक्त अंकदुरी अहिले ३ अंकमा सिमित भएको छ। एथ्लेटिको मड्रिडको हारले ला लिगा उपाधि दौड रोचक बन्दै गएको छ। लिगमा अझै कम्तीमा ९ खेल बाँकि रहेको अवस्थामा बार्सिलोना र रियल मड्रिड पनि उपाधि दौडमा फर्किएका छन्।
सोमबार राति बार्सिलोनाले भाल्लाडोलिडसँग प्रतिस्पर्धा गर्दैछ। सो खेलमा बार्सिलोना विजयी भएमा शीर्षस्थानको एथ्लेटिको मड्रिले १ अंकको मात्र अग्रता बनाउने छ। हाल एथ्लेटिको मड्रिडको २९ खेलबाट ६६ अंक छ। दोस्रो स्थानको रियल मड्रिडको समान खेलबाट ६३ अंक छ। २८ खेल खेलेको बार्सिलोनाको ६२ अंक छ। सोमबार राति विजयी भएमा बार्सिलोना ६५ अंकको साथ तालिकाको दोस्रो स्थानमा उक्लने छ।
उपाधि दौड रोचक बन्दै गएपछि एथ्लेटिको मड्रिडका मुख्य प्रशिक्षक डिइगो साइमनले स्पेनिस लिगको उपाधि दौड अन्तिमतिर पुगेपछि निकै कठिन हुने बताएका छन्। उनले कुनै टोली उपाधि दौडमा स्पष्ट अगाडि नरहेको स्वीकार गर्दै लिगलाई दुई घोडाबीचको दौडको संज्ञा दिएका छन्।