पोर्चुगलमा नक्कली टिकट बेच्ने एक नेपाली ट्राभल्समा त्यहाँको प्रहरीले छापा मारेको छ। साथै १ सय ५० जनाभन्दा धेरैलाई नक्कली टिकट र फर्जी रेमिट्यान्स बेचेको पनि फेला परेको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका कोषाध्यक्ष विक्रमजंग कुँवरले सञ्चालन गरेको लक्ष्मी ट्राभलमा पोर्चुगलको प्रहरीले छापा मारेको हो।
यसैबीच, एनआरएनए पोर्चुगलले नक्कली हवाई टिकट बेच्ने संघका कोषाध्यक्ष कुँवरलाई निलम्बन गरेको छ। संघले नक्कली हवाई टिकट बेचेको घटना सार्वजनिक भएलगत्तै कोषाध्यक्ष विक्रमजंग कुँवरलाई पदबाट निलम्बन गरेको हो।
एनआरएनए पोर्चुगलका अध्यक्ष तिलकप्रसाद गैरे र महासचिव हेमराज सुवेदीले विज्ञप्ति जारी गरी नक्कली टिकट बेचेको आरोप लागेका संघका कोषाध्यक्ष कुँवरलाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको जानकारी दिएका हुन्।
राजधानी लिस्बनमा सञ्चालित लक्ष्मी ट्राभलका सञ्चालक तथा एनआरएनएका कोषाध्यक्ष कुँवरले नक्कली हवाई टिकट बेचेको सेवाग्राहीहरूले आरोप लगाएका थिए।
कुँवरको ट्राभलमार्फत पोर्चुगलबाट नेपाल जान ११ जनाले काटेको हवाई टिकटसहित विमानस्थलमा बोर्डिङ पासका लागि अनुरोध गर्दा डेस्कमा रहेका कर्मचारीले टिकट नक्कली भएको बताउँदै फिर्ता गरेपछि घटना सार्वजनिक भएको हो।
फिर्ता भएका सेवाग्राही गुनासोसहित ट्राभलको ढोका पुगेका र नेपाली समुदायका प्रतिनिधि र पत्रकारहरू पीडितको आवाज सुन्न जम्मा भएका थिए।
फर्काइएका ११ जनाले प्रतिव्यक्ति ६ सय २० यूरो अर्थात् करिब ७० हजार रुपैयाँ तिरेर टर्किस एयरलाइन्सको टिकट काटेको भक्तपुर घर भई पोर्चुगल बस्दै आएका पीडित विजय धिमालले बताए।
पत्रकार एवं सामाजिक अभियन्ता तेजिन्द्र चालिसेका अनुसार सञ्चालक कुँवरले नक्कली टिकट बेचेको थाहा भएपछि पीडितहरूले पोर्चुगाली प्रहरीमा रिपोर्ट गरेका हुन्।
पीडितको गुनासोपछि प्रहरीले छापा मारेको हो। प्रहरीले ट्राभलमा रहेका कागजपत्रहरू पनि जफत गरेको छ। सञ्चालक कुँवरले आफ्नो एजेन्सीलाई टिकट जारी गर्ने निकाय कालो सूचीमा परेकोले समस्या आएको बताएका छन्।
पोर्चुगलमा अवस्थित नेपाली संघ संगठनहरूले पीडितलाई न्याय दिलाउन माग गर्दै समाजको नेतृत्व गर्ने व्यक्तिबाट यस्ता क्रियाकलाप हुनु घोर आपत्ति भएको बताएका छन्।
कुँवरले बेचेकाे टिकट

एनआरएनए पाेर्चुगलकाे विज्ञप्ति
