कुनै समय बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोएम्यानले बार्सिलोना स्पेनिस ला लिगाको उपाधि दौडबाट बाहिरिएको स्वीकार गरेका थिए। शीर्षस्थानको एथ्लेटिको मड्रिडसँग १५ अंकले पछि परेको अवस्थामा कोएम्यानले निराश हुँदै बार्सिलोनाले उपाधि जित्ने आशा सकिएको स्पष्ट पारेका थिए।
तर, हाल ला लिगाको अंक तालिकामा ठूलो फेरबदल भइसकेको छ। कोएम्यानको निराशा आशामा बदलिएको छ। सोमबार राति भएको खेलमा भाल्लाडोलिडलाई १–० गोलले पराजित गर्दै बार्सिलोना तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। त्यतिमात्र होइन जीतसँगै बार्सिलोनाले शीर्षस्थानको एथ्लेटिकोसँगको अंकदुरी १ मा झारेको छ। हाल एथ्लेटिको २९ खेलबाट ६६ अंकको साथ शीर्षस्थानमा छ। बार्सिलोना समान खेलबाट ६५ अंकका साथ दोस्रो स्थानमा छ। यसलाई उपाधि दौडमा बार्सिलोनाको उत्कृष्ट पुनरागमन भनेर व्याख्या गर्न थालिएको छ।
सिजनको उत्कृष्ट शुरुवात गरेको एथ्लेटिको मड्रिडले २०२१ अघिसम्म पनि अंक तालिकामा १३ अंकको अग्रता बनाएको थियो। तर, २०२१ लागेपछि एथ्लेटिको मड्रिडले उत्कृष्ट लयलाई निरन्तरता दिन सकेन। पछिल्ला खेलहरुमा मिश्रित नजिता निकालेका कारण एथ्लेटिकोले उपाधि दौडमा दबाब झेल्न पुगेको हो।
एथ्लेटिकाले आफ्ना पछिल्ला ५ खेलमा २ खेल मात्र जितेको छ। त्यस्तै, सिजनको मध्यम शुरुवात गरेको बार्सिलोनाले पछिल्ला खेलहरुमा राम्रो लयलाई निरन्तरता दिइरहेको छ। बार्सिलोनाले आफ्ना पछिल्ला ५ खेलमा शतप्रतिशत जीत निकालेको छ।
पछिल्लो अवस्थामा रियल मड्रिड शीर्ष दुई टोलीलाई दबाब दिने गरी अघि बढिरहेको छ। समान २९ खेलबाट रियलले ६३ अंक जोडेको छ। रियलले पछिल्ला ५ मध्ये ३ खेलमा जीत निकालेको छ।