अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले माधवकुमार नेपाल समूहका विद्यार्थीलाई संगठनबाट निष्कासन गरेको छ। अनेरास्ववियुले सचिवहरु सुदेश पराजुली, वसिम आलम र आरती लामालाई संगठनको साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको हो।
प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निकट अनेरास्ववियु अध्यक्ष ऐन महरले साधारण सदस्यसमेत नरहने गरी उनीहरूलाई मंगलबार कारवाही गरेका हुन्। केही दिनअघि नेपाल समूहको अनेरास्ववियु भेलाले पराजुलीलाई अध्यक्ष, आलमलाई सह–अध्यक्ष र लामालाई महासचिव चयन गरेको थियो।
समानान्तर गतिविधि गरेको भन्दै महरले चैत १५ गते र चैत २२ गते दुईपटक स्पष्टीकरण सोधेका थिए। उनीहरूलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको र पछिल्लोपटक २४ घण्टे स्पष्टीकरण सोधे पनि जवाफ नदिएकोले कारवाही गरेको महरले जारी गरेको विज्ञप्तिमा जानकारी दिइएको छ।