नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओली सरकारका चार मन्त्रीलाई सांसद पदबाट हटाउन पत्र पठाएको छ।
गएको स्थायी समिति बैठकको निर्णय कार्यान्वयन गर्दै माओवादी केन्द्रले ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहलाई सांसद पदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाएको हाे।
प्रचण्डले फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि उनीहरुले माओवादी केन्द्रको प्रतिनिधित्व गर्नुपर्नेमा नेकपा एमालेको राजनीतिक गतिविधिमा संलग्न भएको र केन्दीय सदस्य पद स्वीकार गरेकाले कारबाही गरेको उल्लेख गरेका छन्।
उनीहरुमध्ये रायमाझी, भट्ट र चौधरीले स्पष्टिकरणको जवाफ नै नदिएको र साहले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै माओवादी केन्द्रले संसद सचिवालयमा दल त्यागसम्बन्धी कारबाहीका लागि सिफारिस गरेको थियो।
‘दल त्यागको सूचना नेपाल कम्युनिस्ट पार्टी (माओवदी केन्द्र) प्रतिनिधिसभा संसदीय दलले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम प्रतिनिधिसभामा पेश गर्नेसमेत निर्णय गरियो’ अध्यक्ष प्रचण्डले जारी गरेको सूचनामा भनिएको छ।
हेर्नुहोस् प्रचण्डको पत्र