नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान शुरु भएको छ। बिहान ९ बजेदेखि देशैभर मतदान शुरु भएको हो। मतदानका लागि अपराह्न चार बजेसम्मको समय तोकिएको छ। केन्द्र, प्रदेश र शाखाको नयाँ कार्यसमिति चयनका लागि एकै पटक मतदान शुरु भएको छ। यसपटक इतिहासमै पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् महासंघको नेतृत्व चयन हुँदैछ।
देशभरबाट १३ हजार १ सय ८० पत्रकारहरुले तीन वर्षे कार्यकालका लागि आफ्नो नेता चुन्ने छन्। अध्यक्ष पदका लागि केन्द्रमा विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। पोखरेल प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव नेपाल समूह) सहित ११ वटा संगठनको साझा उम्मेदवारको रुपमा छन्।
शर्मा प्रेस चौतारी (केपी ओली समूह) सहितको गठबन्धनबाट उम्मेदवार छिन्। अध्यक्ष पदका लागि स्वतन्त्र रुपमा गजेन्द्रसिंह बुढाथोकी पनि प्रतिस्पर्धामा उत्रिएका छन्। पोखरेल प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, समावेशी उपाध्यक्षमा उदय जीएम र महिला उपाध्यक्षमा बाला अधिकारी उम्मेदवार छन्। रोशन पुरी महासचिवको उम्मेदवार छन्।
यो प्यानलबाट सचिव पदमा गोविन्द चौलागाई (खुल्ला), पवन आचार्य (एशोसिएट), सिर्जना अर्याल (महिला), नारायण किलम्बु (आदिवासी जनजाती), दिपेन्द्र चौहान (मधेसी), हेमकर्ण विक (दलित) उम्मेदवार छन्। यसैगरी कलेन्द्र सेजुवाल कोषाध्यक्ष र लेखनाथ न्यौपाने लेखा संयोजकमा उम्मेदवार बनेका छन्।
शर्मा नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, समावेशी उपाध्यक्षमा अवधेश झा र महिला उपाध्यक्ष दाना केसी सुवेदी उम्मेदवार छन्। यो प्यानलमा बालकृष्ण बस्नेत महासचिवको उम्मेदवार छन्। यसैगरी सचिव पदमा रामकृष्ण ज्ञवाली (खुल्ला), निमा काफ्ले (महिला), शाहीमान राई (आदिवासी जनजाति), स्वेता सिन्हा (मधेसी), मधु शाही (दलित) र रामेश्वर कार्की (एशोसिएट) उम्मेदवार बनेका छन्। कृष्ण गिरी कोषाध्यक्ष पदमा र द्वारिकाप्रसाद काफ्ले लेखा समितिको संयोजक पदमा प्रतिस्पर्धामा उत्रिएका छन्।
काठमाडौं उपत्यकामा प्रतिष्ठान, उपत्यका र एशोसिएटका लागि छुट्टाछुट्टै मतदानस्थल तोकिएको छ। काठमाडौंको हकमा प्रज्ञा भवन कमलादीको केन्द्रबाट मतदान भैरहेको छ। एशोसिएट सदस्यहरुको मतदानस्थल दशरथ रंगशालामा र प्रतिष्ठान सदस्यहरुका लागि १९ वटा केन्द्रमा मतदान भइरहेको छ।