च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल खेलहरु शुरु भइसकेका छन्। मंगलबार राति भएको क्वाटरफाइनल खेलको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमण्ड म्यानचेस्टर सिटीसँग २–१ गोलले हार्याे।
घरेलु मैदानमा भएको खेलमा १९ औं मिनेटमा सिटीले शुरुवाती अग्रता बनाएको थियो। सिटीका लागि केभिन डि ब्रुयनले गोल गरेका थिए। पहिलो हाफमा एक गोलले पछि परेको डर्टमण्डले ८४ औं मिनेटमा गोल गर्न सफल भयो। डर्टमण्डका लागि मार्को रुसले गोल गरेका थिए।
बराबरीतिर धकेलिएको खेलको अन्तिम समयमा गोल गर्दै फिल फोडेनले घरेलु मैदानमा सिटीको जीत पक्का गरे। खेलपछि प्रतिक्रिया दिँदै डर्टमण्डका गोलस्कोरर रुसले दोस्रो गोल खाएपछि टिममा निराशा छाएको बताएका छन्। ‘हामी दुखित भयौं। अन्तिम समयकाे त्यो गोल हाम्रा लागि घातक थियो,’ उनले भने।
डर्टमण्डका मुख्य प्रशिक्षक इडेन टर्जिकले पहिलो लेगको हारले दुखी बनाएको बताएका छन्। ‘हामीलाई थाहा छ, उनीहरुसँग धेरै समय बल थियो, लामो समयसम्म बलमा उनीहरुकै नियन्त्रणमा रह्यो,’ टर्जिकले भने, ‘तर, हामी प्रयास गर्न चाहान्थ्यौं र बल खोस्न प्रयासमा लाग्थ्यौं।’ ‘हामीले समग्रमा राम्रो खेल्यौं। उनीहरुलाई धेरै मौका दिएनौं। तर, अन्तिमको गोलले निराशा बनायो,’ उनले थपे।
‘पेपले पूरा समय राम्रो व्यवहार देखाए। तर, खेल सकिएको छैन। ८ दिनपछि हामी फेरि भेट्नेछौं। यो आधा समय हो र टाई अहिले पनि खुला छ। हामी दोस्रो लेगमा नजितालाई उल्टाएर अर्को चरणमा प्रवेश गर्नका लागि हर प्रयास गर्नेछौं,’ टर्जिकले भने।