च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुल स्पेनिस क्लब रियल मड्रिडसँग ३–१ गोलले स्तब्ध भयो। रियलको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले बलमा राम्रो पकड बनाएपनि खेल जित्न सकेन।
खेलको २७ औं मिनेटमा रियलका भिनिसियस जुनियरले गोल गर्दै घरेलु टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए। ३६ औं मिनेटमा मार्को यसेन्सिओले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए। खेलकाे पहिलो हाफमा नै २ गोलले पछि परेको लिभरपुल निकै दबाबमा देखिएको थियो।
दबाबकाबीच ५१ औं मिनेटमा मोहमेद सलाहाले गोल गर्दै लिभरपुललाइै केही हदसम्म खेलमा फर्काए। तर, ६५ औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई पुनः २ गोलले अगाडि राख्न सफल भए। त्यसपछि खेलमा अन्य गोल भएन र रियल मड्रिड विजयी भयो।
उक्त हारपछि लिभरपुललका मुख्य प्रशिक्षक युर्गेन क्लोप आफ्ना खेलाडीसँग रुष्ट बनेका छन्। डिफेन्स कमजोर भएका कारण हार बेहोर्नुपरेको निश्कर्षमा पुगेका क्लोपले आफूहरुकै कमजोरीका कारण रियलले गोलका लागि सजह वातावरण पाएको प्रतिक्रिया दिएका छन्।
‘यदि सेमि फाइनलमा जान चाहान्छौं भने त्यसका लागि योग्य ठहरिनुपर्छ,’ क्लोपले भने, ‘हामीले त्यो गरेनौं, विशेषगरी पहिलो हाफमा।’ ‘मैले भन्न सक्ने राम्रो कुरा भनेको यो टाईको पहिलो हाफ मात्र हो,’ उनले थपे।
‘यदि गलत समयमा रियल मड्रिडलाई बल दिएमा रियलको गतिमा डिफेण्ड गर्न गारो हुन्छ। सही समयमा बल लुज गर्दा ठीक छ। हामीले धेरै समय बल गुमायौं,’ उनले भने, ‘ रियललाई समस्या पैदा गर्न हामीले राम्रो फुटबल खेल्न सकेनौं।’