गर्भवती रहेकी बालिकालाई यौनसम्बन्ध राख्नका लागि प्रस्ताव गरेका नेपाली युवकलाई अमेरिकाको एक संघीय अदालतले दोषी ठहर गरेको छ। फ्लोरिडाको ज्याक्सनभिले बस्ने संजय लामालाई १२ वर्षकी गर्भवती बालिकालाई यौनसम्बन्ध राख्न फकाएको आरोपमा दोषी ठहर गरिएको हो।
समाचार स्रोतका अनुसार लामाले अनलाइनमा १२ वर्षकी गर्भवती बालिकाको रुपमा देखिएका अण्डरकभर एफबीआइ एजेन्टसँग कुराकानी गरेका थिए। अनलाइनमा कुरा गर्ने क्रममा उनले ती बालिकालाई यौन सम्बनधका लागि भेट्न फकाएका थिए। लामासँग कुरा गर्ने वास्तविक व्यक्ति एफबीआइ एजेन्ट थिए।
लामाले ती बालिकालाई यौन सम्बन्धका लागि भेट्ने इच्छा जनाउँदै १६० वटा टेक्स्ट म्यासेज पठाएका थिए। उनले आफूले बालिकासँग गर्न चाहेका यौनजन्य क्रियाकलापबारे पनि बताएका थिए। त्यस दिन दिउँसो उनी डाउनटाउन ज्याक्सनभिलेमा रहेको आफ्नो काम गर्ने ठाउँबाट निस्केर मोटरसाइकलमा बालिकासँग भेट्न निर्धारित स्थानमा पुगेका थिए।
त्यहाँ पुग्ने बित्तिकै लामालाई एफबीआइ एजेन्टले पक्राउ गरेका थिए। यो घटना सन् २०१९ को सेप्टेम्बरको हो। लामा सोही समयदेखि त्यहीँको जेलमा छन्।
आउँदो जुलाइ १९ मा लामालाई सजाय सुनाउनको लागि अर्को सुनुवाइ तोकिएको छ। अमेरिकाको कानुन विभागका अनुसार उनलाई कम्तीमा १० वर्षदेखि आजीवन जेल सजायसम्म हुनसक्ने छ। लामा घटनाको समयमा ज्याक्सनभिलेमा कानुनी रुपमा बस्थे र स्थानीय कम्पनीमा सूचना प्रविधि विशेषज्ञको रुपमा काम गरिरहेका थिए।