युइएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलकाे पहिलाे लेगमा बुधबार राति दुई खेलहरु हुँदैछन्। पहिलो खेलमा गत सिजनको विजेता र उपविजेताबीच महाभिडन्त हुँदैछ। जर्मन क्लब बायर्न म्युनिखले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पिएसजी)लाई आफ्नो घरमा स्वागत गर्दैछ।
उक्त खेल नेपाली समयअनुसार राति १२ः४५ बजे शुरु हुनेछ। बायर्न गत सिजनको च्याम्पियन्स लिगको च्याम्पियन हो। पिएसजी उपविजेता हो। गत सिजन बायर्नले फाइनल खेलमा पिएसीलाई १–० गोलले पराजित गर्दै उपाधि उचालेको थियो।
च्याम्पियन्स लिगमा यी दुई टोलीले यो १० औं भेट हुनेछ। यसअघिका ९ खेलमध्ये ५ खेल बायर्न र ४ खेल पिएसजीले जितेको छ।
च्याम्पियन्स लिग बाहेक एक मैत्रीपूर्ण खेलमा २ टोलीको भेट भएको थियो। सो खेल बायर्नले जितेको थियो। हेड टु हेडको तथ्याङ्कमा दुबै टोली बराबरीको अवस्थामा छन्।
त्यसैगरी बुधबार रातिको दोस्रो खेलमा चेल्सी र पोर्टो आमनेसामने हुँदैछन्। उक्त खेल स्पेनिस क्लब सेभियाको घरेलु मैदानमा हुनेछ। खेल नेपाली समयअनुसार राति १२ः४५ बजे शुरु हुनेछ।
यी दुई टोलीबीच हालसम्म ८ खेल भएका छन्। ती सबै खेलहरु च्याम्पियन्स लिगकै हुन्। तीमध्ये चेल्सी ५ खेलमा विजयी भएको छ। २ खेल पोर्टोले जितेको छ। एक खेल बराबरीमा सकिएको छ। अन्तिम पटक चेल्सी र पोर्टोको भेट च्याम्पियन्स लिग २०१५–१६ को समूह चरणमा भएको थियो। उक्त भेटमा चेल्सी २–० गोलले विजयी भएको थियो।