युइएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल खेलको पहिलो लेग सकिएको छ। पहिलो लेगमा बोरुसिया डर्टमण्डविरुद्ध म्यानचेस्टर सिटी, लिभरपुलविरुद्ध रियल मड्रिड, बायर्न म्युनिखविरुद्ध पिएसजी र पोर्टोविरुद्ध चेल्सी विजयी भएको छ।
क्वाटरफाइनलको पहिलो लेगमा अगाडि रहेका टोली सेमिफाइनलमा पुग्ने सम्भावना स्वभाविकरुपमा बढी नै हुन्छ। तर, च्याम्पियन्स लिगको पहिलो लेगमा फराकिलो गोलअन्तरले पछि परेको टोलीले दोस्रो लेगमा शनसनीपूर्ण ‘कमब्याक’ कमब्याक गर्दै अघिल्लो चरण प्रवेश गरेको इतिहासहरु छन्। त्यसमाथि पनि बराबरी वा थोरै गोलअन्तरले पछि परेको अवस्थामा टोलीहरुले कमब्याक गर्न सक्छन् भन्ने आशा गर्न सकिन्छ।
नकआउट खेलहरुमा टोलीको खेलहरु घरेलु मैदानमा बढी प्रभावशाली मानिन्छन्। घरेलु मैदानमा दर्शकको उपस्थिति र निरन्तर अभ्यासका कारण खेलको नजितामा अन्तर पर्ने स्पष्ट हुन्छ। तर, कोरोना कहरका कारण फुटबल मैदानमा दर्शकले खेल हेर्न पाइरहेका छन्। जे भए पनि घरेलु मैदानमा टोलीको मनोबल उच्च हुने र त्यसले सकरात्मक नजिता निकाल्न प्रेरित गर्ने सहज अनुमान गर्न सकिन्छ।
घरेलु मैदानमा भएको खेलमा सिटीले डर्टमण्डलाई २–१ गोलले हराएको थियो। दुई टोलीबीचको दोस्रो लेग नेपाली मितिअनुसार बैशाख १ गते बुधबार राति १२ः४५ बजे शुरु हुनेछ। खेल डर्टमण्डको मैदानमा हुनेछ। डर्टमण्डले एक अवे गोल गरिसकेको छ। अघिल्लो चरण प्रवेशका लागि उसले सिटीलाई १–० गोलले पराजित गरे पुग्छ। इंग्लिस प्रिमियर लिगको लिग लिडर सिटीविरुद्धको ‘कमब्याक’ सजिलो त छैन तर, डर्टमण्डजस्तो टोलीका लागि असम्भव पनि छैन। त्यसकारण यस खेलमा डर्टमण्डले कमब्याक गर्ने सम्भावना उच्च रहेको छ।
क्वाटरफाइनल खेलको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुल स्पेनिस क्लब रियल मड्रिडसँग ३–१ गोलले स्तब्ध भयो। घरेलु मैदानमा भएको खेलमा रियलले लिभरपुललाई नमिठो हार चखाएको थियो। यी दुई टोलीबीचको दोस्रो लेग लिभरपुलको घरेलु मैदानमा आउँदो बुधबार राति १२ः४५ बजे शुरु हुनेछ।
लिभरपुलले च्याम्पियन्स लिगको दोस्रो लेगमा शानदार पुनरागमन गर्दै अघिल्लो चरण प्रवेश गरेको इतिहास छ। युर्गेन क्लोपको प्रशिक्षणमा रहेको लिभरपुलको खेल यस सिजन केही हदसम्म खस्किएको छ। फुटबलमा असम्भव भन्ने त केही छैन तर, युरोपको सर्वाधिक धेरै पटकको च्याम्पियन रियल मड्रिडविरुद्धको कमब्याक लिभरपुलका लागि निकै कठिन छ। रियल मड्रिडले घरेलु लिगमा पनि राम्रो प्रदर्शन गरिरहेको छ। त्यही लयलाई निरन्तरता दिएमा लिभरपुलको यस सिजनको च्याम्पियन्स लिगको यात्रा यहीँ नै सकिनेछ।
क्वाटरफाइनलको पहिलो लिगमा साविक विजेता बायर्न म्युनिख पिएसजीसँग ३–२ गोलले स्तब्ध भयो। घरेलु मैदानमा भएको खेलमा बायर्नले धेरै अवसरहरु सिर्जना गरे पनि धेरै गोल गर्न असमर्थ रह्यो। दुई टोलीबीचको दोस्रो लेग आगामी मंगलबार राति १२ः४५ बजे पिएसजीको घरेलु मैदानमा हुनेछ।
उच्च लयमा रहेको पिएसजीलाई उसैको घरमा पराजित गर्नु बार्यनका लागि ठूलो चुनौती हो। तर, बार्यनले पहिलो लेगमा जुन प्रयास गर्याे, त्यसले टोली सन्तुलित र कमब्याक गर्न सक्षम रहेको सन्देश दिएको छ। गोलअन्तर धेरै नभएकाले पनि बायर्नले दोस्रो लेगमा कमब्याक गर्ने सम्भावना चाँहि अवश्य देखिन्छ।
त्यसैगरी च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा पोर्टोविरुद्ध चेल्सी विजयी भएको थियो। स्पेनमा भएको खेलमा चेल्सीले पोर्र्टोलाइ २–० गोलले हराएको हो। यी दुई टोलीबीचको दोस्रो लेग सोही मैदानमा आउँदो मंगलबार राति १२ः४५ बजे शुरु हुनेछ।
चेल्सीविरुद्धको कमब्याक पोर्टोका लागि कठिन मानिएको छ। राम्रो आक्रमण बुने पनि पोर्टोको फिनिसिङ कमजोर छ। त्यस्तै, डिफेन्समा पनि कमजोरी गरिरहेको पोर्टोले चेल्सीलाई पराजित गर्न चमत्कारिक खेल पस्किन सक्नुपर्छ। घरेलु लिगमा ५ औं स्थानमा रहेको चेल्सीले मध्यम प्रदर्शन गरिरहेको छ। पोर्टोविरुद्धको दोस्रो लेगमा चेल्सीले रक्षात्मक खेल खेल्ने रणनीति बनाउने छ।