नेपाल पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा सूर्य सुवेदी विजयी भएका छन्। महासंघ काठमाडौंको बिहीबार राति सम्पन्न मतपरिणामअनुसार सुवेदी ७१३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी मोहन पन्तले ३ सय ३७ मत प्राप्त गएका छन्।
यस्तै उपाध्यक्षमा रामचन्द्र दुलाल (भाञ्जा), महिला उपाध्यक्षमा अप्सरा गौतम, सचिवमा महेश्वर गौतम, सहसचिवमा अर्जुन डोटेल र कोषाध्यक्षमा अजित अधिकारी विजयी भएका छन्। यसैगरी खुला सदस्यमा कमलराज राई, कृष्णप्रसाद ढुङ्गेल, कृष्णराज गौतम, बुद्ध योञ्जन लामा, रमेशकुमार बोहरा, रमेश लामिछाने, रीना श्रेष्ठ र शैलेश डङ्गोल विजयी भएका छन्।
मधेशी सदस्यमा मीनाकुमारी यादव, दलित सदस्यमा शोभा नेपाली, समावेशी सदस्यमा दीपक काफ्ले र महिला सदस्यमा शोभा अर्याल विजय भएका छन्। देशभरको सबैभन्दा धेरै मतदाता रहेको काठमाडौं शाखाको बुधबार सम्पन्न निर्वाचनमा एक हजार २३४ मत खसेको थियो।
हुम्ला अध्यक्षमा रावत विजयी
सिमकोट– नेपाल पत्रकार महासंघ हुम्ला जिल्ला शाखाको अध्यक्षमा राजन रावत विजयी भएका छन्। बुधबार भएको निर्वाचनबाट रावत निर्वाचित भएका हुन्। बिहीबार भएको मतगणनामा रावतले कूल खसेको २९ मतमध्ये २० मत पाएको महासंघ जिल्ला निर्वाचन समितिका संयोजक हरिबहादुर रावतले बताए। अध्यक्षका अर्का प्रत्यासी अर्जुन बोहराले नौ मत प्राप्त गरे।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा राजबहादुर शाही, सचिवमा नन्द सिंह, कोषाध्यक्षमा सुरेश परियार, दलित सदस्यमा दलसरा परियार विजयी भएका छन्। महिला उपाध्यक्षमा कुसुम बुढा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। त्यसैगरी सहसचिवमा छपाल लामा र अशोक भण्डारी पनि निर्विरोध चयन भएका थिए। सदस्यमा बेलुमाया महतारा, भक्तराज ऐडी, लोग भण्डारी, दाने बोहरा, पदमराज हमाल चयन भएका छन्। उनीहरू पनि निर्विरोध निर्वाचित भएका हुन्।
निर्वाचनमा प्रेस युनियन र प्रेस चौतारी (ओली पक्ष) बीच सहकार्य भएको हो। त्यस्तै केन्द्रीय परिषद् सदस्यमा जनक शाही र नवराज महतारा तथा प्रदेश परिषद् सदस्यमा कालीबहादुर थापा पनि निर्विरोध चयन भएका छन्। नेपाल पत्रकार महासंघ जिल्ला शाखामा ३३ पत्रकार आबद्ध भए पनि २९ जनाले मतदान गरेका थिए।