सांसद् पद गुमाएका चार नेताले शुक्रबार फेरि मन्त्री पदको शपथ लिने भएका छन्। माओवादी केन्द्र छाडेर हालै एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले शुक्रबार साँझ ५ बजे नै शपथ लिने भएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेका हुन्। हालै एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका उनीहरुलाई नेकपा माओवादी केन्द्रले दलबाट निश्कासनको कारबाही गरेको थियो।
राजनीतिक दलसम्बन्धी ऐनमा सांसद्लाई निर्वाचित भएको दलले निश्कासन गरेपछि सांसद पनिबाट पदमुक्त हुने व्यवस्था छ।