विश्व फुटबलका पारखीहरुले सबैभन्दा बढी रुचाउने प्रतिस्पर्धा हो, इएल क्लासिको। दुई ठूला स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडबीचको महाभिडन्तलाई इएल क्लासिको भनिन्छ। पहिले स्पेनिस प्रतिस्पर्धामा हुने खेललाई मात्र इएल क्लासिको भनिन्थ्यो। तर, हाल बार्सिलोना र रियलबीच जुनसुकै खेल भए पनि त्यसलाई इएल क्लासिको मानिन थालिएको छ।
ला लिगाको एक सिजनमा दुई इएल क्लासिको हुन्छ। अथातर्् ला लिगाको एक सिजनमा बार्सिलोना र रियलबीच दुई पटक प्रतिस्पर्धा हुन्छ। सिजनको पहिलो इएल क्लासिको २४ अक्टोबर २०२० मा भएको थियो। बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा रियल ३–१ गोलले विजयी भएको थियो।
ला लिगाको यस सिजनको दोस्रो इएल क्लासिको आउँदो शनिबार राति १२ः४५ बजे हुनेछ। उक्त खेल रियल मड्रिडको घरेलु मैदानमा हुनेछ।
हालसम्म ला लिगामा यी दुई टोलीबीच १ सय ८१ खेलहरु भएका छन्। तीमध्ये रियल ७४ खेलमा र बार्सिलोना ७२ खेलमा विजयी भएको छ। ३५ खेलमा बराबरी भएको छ।
सबैखाले प्रतिस्पर्धामा बार्सिलोना र रियलबीच २ सय ७८ खेल भएका छन्। तीमध्ये ९७ खेलमा रियल र ९६ खेलमा बार्सिलोना विजयी भएको छ। ५२ खेल बराबरीमा सकिएको छ।
त्यस्तै, हालसम्म बार्सिलोना र रियल मड्रिडबीच सबै गरी (३३ एक्जिबिसन खेलसहित) २ सय ७८ खेलमा भेट भएको छ। तीमध्ये बार्सिलोना १ सय १५ र रियल १०१ एक खेलमा विजयी भएको छ। ६२ खेलमा बराबरी भएको छ।
शनिबारको इएल क्लासिको रोचक हुने सहज अनुमान गर्न सकिन्छ। एक समय ला लिगाको उपाधि दौडबाट टाढिएको बार्सिलोना हाल शीर्षस्थानको एथ्लेटिको मड्रिडभन्दा १ अंकले मात्र पछि छ। रियल बार्सिलोनाभन्दा २ अंकले मात्र पछि छ। सिजनको शुरुवातमा मध्यम प्रदर्शन गरेका दुबै टोली हाल उच्च लयमा छन्।
रियलले च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा लिभरपुललाई ३–१ गोलले पराजित गरेको थियो। उक्त खेलमा शानदार प्रदर्शन गरेको रियल र लयमा फर्किएको बार्सिलोनबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। रियल च्याम्पियन्स लिगको नतिजाबाट हौसिएको छ र बार्सिलोना ला लिगा उपाधि दौडमा गरेको उत्कृष्ट पुनरागमनबाट उत्साहित छ। त्यसकारण दुई टोलीबीचको यो महाभिडन्त विशेष हुनेछ।