काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व मनाइँदैछ। चैत्र कृष्ण औंसीका दिन मनाइने यो जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा आइतबार एक दिन सार्वजनिक बिदा दिएको छ।
यो जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको छ। सो समारोहमा घोडचढीहरुले विभिन्न कला प्रदर्शन गर्दछन्। घोडेजात्राको अवसरमा टुँडिखेलमा नेपाली सेनाले अश्वकला, युद्धकला, शारीरिक व्यायामलगायतको प्रदर्शन गर्दछ।
समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता हुने गर्दछ। ललितपुर जिल्लामा भने एउटा आँखा नदेख्ने एक्लो घोडा दौडाएर घोडे जात्रा मनाउने गरिन्छ।
टुँडिखेलमा पूर्व–दक्षिण दिशामा रहेको एउटा रुखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेको स्थानीयको गुनासोपछि घोडाको टापले कुल्चाउने प्रचलन शुरु भएको र त्यही प्रचलन अनुसार घोडेजात्रा मनाउन थालिएको जनश्रुति छ।