नेपाली पब्लिकका प्रधान सम्पादक के.सी. लामिछाने नेपाल पत्रकार महासंघ प्रदेश २ को भूगोलतर्फको केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन्।
राजनीतिको मैदान छोडेर पत्रकारिताका माध्यमबाट समाजलाई जागृत र सुसूचित गर्न उनी कटिबद्ध छन्। यद्यपि, संघर्षशील लामिछानेको परिचय केबल पत्रकारका रुपमा मात्रै छैन।
नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको राजनीति गरेका लामिछाने मूलधारको पत्रकारिताको माध्यमबाट नागरिकलाई सही सूचना र समाचार प्रस्तुत गर्ने कर्ममा क्रियाशील छन्।
‘मैले पत्रकारिता शुरु गर्दा नेपालमा सीमित सञ्चारमाध्यम थिए, नागरिकलाई सूचना प्राप्त गर्न रेडियोको समाचार पर्खिनु पर्ने बाध्यता थियो, अथवा भोलि प्रकाशित हुने पत्रिकाको,’ लामिछानेले भने, ‘अहिले अनलाइनका माध्यमबाट पलपलको समाचार प्राप्त हुन्छ।’
नेपालका १०औं हजार श्रमजीवी सञ्चारकर्मीहरूको हक र अधिकारका लागि निरन्तर आवाज बुलन्द गर्ने साहसी पत्रकार लामिछानेले नवीनतम् लक्ष्य हासिल गर्दै पत्रकारितालाई व्यवस्थित गर्नुपर्ने बताए।
‘अबको मेरो लक्ष्य पत्रकारहरूको अधिकार स्थापित गर्नु, नयाँ प्रविधिलाई सञ्चारमाध्यसँग जोड्नु र पत्रकार साथीहरूको क्षमता अभिवृद्धि गर्नका लागि केन्द्रित हुने छ,’ लामिछानेले भने।
को हुन् लामिछाने?
२०५६ सालदेखि नेपाल पत्रकारिता क्षेत्रमा सक्रिय छन् कृष्णचन्द्र (के.सी.) लामिछाने। २०३४ असोज २६ गते बुवा गुरुप्रसाद लामिछाने र आमा मिठुदेवी लामिछानेका कान्छा सुपुत्रका रुपमा कास्की रुपाकोटमा के.सी. लामिछानेको जन्म भएको हो।
वि.सं. २०५० मा एसएलसी पास गरेका लामिछानेले समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्। र, कानूनशास्त्र संकायमा स्नातक अध्ययनरत रहेका लामिछाने अध्ययनका दायरा सबै किसिमले खुला बनाउनु पर्ने बताउँछन्।
व्यावसायिक पत्रकारितामा प्रवेश गर्दै गर्दा लामिछाने पर्साबाट अनेरास्ववियूको राजनीतिमा पनि सक्रिय थिए। अनेरास्ववियुको जिल्लाको कोषाध्यक्ष, उपाध्यक्ष र अध्यक्षको जिम्मेवारी सम्हालेका लामिछानेले २०५७ सालसम्म राष्ट्रिय परिषद् सदस्य भएपछि विद्यार्थी राजनीतिलाई ब्रेक दिए।
त्यसपछि पत्रकारितालाई नै अघि बढाएका लामिछाने नवआदर्श साप्ताहिकमा आबद्ध भए। जनप्रतिबिम्ब दैनिक सम्पादक–प्रकाशक भएका लामिछानेले बुधबार साप्ताहिक, गोरखापत्र दैनिक, नेपाल समाचारपत्र दैनिक, हिमालय टेलिभिजन, उज्यालो ९० नेटवर्कसहितका मूलधारका सञ्चारमाध्यममा काम गरे।
नेपाल पत्रकार महासंघ पर्सा जिल्ला सदस्यमा २०५८ सालमा निर्वाचित भएका लामिछाने जिल्ला सचिव भएर काम गर्दै २०६८ सालमा पर्सा अध्यक्ष भए।
वि.सं. २०७४ सालमा नेपाल पत्रकार महासंघ प्रदेश उपाध्यक्ष भएका लामिछानेले हालै सम्पन्न महासंघको अधिवेशनबाट केन्द्रीय सदस्यको जिम्मेवारी पाएका छन्।
‘महासंघ पत्रकारहरूको छाता संगठन हो, चुनावी प्रतिस्पर्धामा हामी को–कहाँ थियौं, त्यो फरक कुरा हो, अब हामी एकताबद्ध भएर नेपाल पत्रकार महासंघका विविध कार्यभार पूरा गर्न अघि बढ्ने छौं,’ लामिछानेले भने।