कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण आज मृत्यु भएको छ। कडा खालको निमोनियाले अवस्था जटिल भएपछि आइतबार राति अस्पताल पुगेका उनको नमूना परीक्षण गर्दा कारोना संक्रमणको पुष्टि भएको थियो।
सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले आइतबार राति भर्ना भएका उनको अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जानकारी दिएका छ। गएको फागुनमा उनी भारतबाट घर फर्किएका जनकारी दिएको छ।
सेती प्रादेशिक अस्पतालमा संक्रमित चार जनाको उपचारको व्यवस्थापन भइरहेको छ। ‘संक्रमितमध्ये दुई जनाको भेन्टिलेटरमा र एक जनाको आइसियुमा उपचार भइरहेको छ,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘फागुन १० गतेयता कोरोनाका कारण हुने मृत्यु दर अस्पतालमा शून्य रहेकाेमा आज ५० दिनपछि एक जना संक्रमितको मृत्यु भएको हो।’
पछिल्ला हप्तामा भारतमा यो रोगको संक्रमण र मृत्यु दर बढेसँगै नेपालमा यो रोग फैलिने जोखिम देखिएको छ। सुदूरपश्चिम प्रदेशसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा कोरोनाको संक्रमण बढेसँगै त्यहाँका शैक्षिक संस्था बन्द गरिएको छ।
महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचाररत एक जना संक्रमितको पनि केही दिनअघि मृत्यु भएको थियो। रोग फैलिन नदिन सचेतना कार्यक्रम सञ्चालन भइरहेको भए पनि स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा भइरहेको लापरवाहीले कोरोना भाइरसको जोखिम बढ्ने देखिएको श्रेष्ठले बताए।
मास्क नलगाई हिँड्ने, एक आपसमा भौतिक दूरी कायम नगर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा सुदूरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम देखिएको छ। पछिल्ला दिनमा प्रदेशमा यो रोगको संक्रमण दर बढ्दै गएको छ। स्वास्थ्य निर्देशनालय दीपायलको तथ्यांकका अनुसार पछिल्लो तीन हप्तामा १२७ जनामा संक्रमणको पुष्टि भएको छ।