गैरआवासीय नेपाली संघले आइएलओको सहयोगमा सञ्चालित परियोजनामा भ्रष्टाचार गरेको आरोप लागेका एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइराला तथा उपाध्यक्ष पासाङ शेर्पालाई निलम्बन गर्ने निर्णय गरेको छ।
गैरआवासीय नेपाली संघका केन्द्रीय पदाधिकारी (अफिस वियरर्स) हरूको भर्चुअल माध्यमबाट बसेको बैठकले एनआरएनए युएई कार्य समितिले गरेको सिफारिस अनुसार अध्यक्ष कोइराला तथा उपाध्यक्ष पासाङ शेर्पालाई निलम्बन गर्ने निर्णय गरेको हो।
बैठकका सहभागी एक पदाधिकारीका अनुसार मध्यपूर्व तथा मलेसियामा कोभिड–१९ बाट प्रभावित भई रोजगारी गुमाएका नेपाली कामदारहरूलाई राहत तथा स्वदेश फिर्तीमा सघाउन आइएलओको सहयोगमा सञ्चालित परियोजनाबारे कार्य समितिलाई जानकारी नदिइ काठमाडौँमा खाता खोल्ने, काठमाडौँबाट हुण्डी गरेर पैसा झिकाउने जस्ता काम गरेको ठहर गर्दै अध्यक्ष कोइराला तथा उपाध्यक्ष पासाङ शेर्पालाई निलम्बन गर्न सिफारिस गरेको थियो।
भ्रष्टाचारको आरोप लागेपछि केन्द्रले नै ६ सदस्यीय छानवीन समिति गठन गरेको र उक्त समितिले आफ्नो प्रतिवेदन बुझाइसकेको छ। उक्त प्रतिवेदनका सिफारिसबारे संघका केन्द्रीय कोषाध्यक्ष महेश श्रेष्ठले नेतृत्व गरेको अर्को कमिटीले अध्ययन गरिरहेको छ।
बैठकमा उपाध्यक्ष बद्री केसीले लागेका आरोपहरूबारे छानवीन गरी दोषी पाइए कारबाही गरिने बताएका थिए। तर, एनआरएनएका मध्यपूर्व संयोजक प्रवीण गुरुङले युएइ भ्रष्टाचार प्रकरणले गर्दा सिंगो एनआरएनएको साखमाथि नै नराम्रो धक्का लागेको बताउँदै छानवीन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।
गुरुङले उक्त परियोजनामा भएको अनियमितताको छानवीनमा असर पर्न सक्ने भएकाले नैतिकताको आधारमा उक्त परियोजनाका संयोजक तथा उपाध्यक्ष बद्री केसीले आफ्नो पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्।
बैठकले विभिन्न एनसीसीहरूमा सदस्यता वितरण कार्यको भेरिफिकेशन गर्न एनसीसीका अध्यक्ष, महासचिव तथा कोषाध्यक्ष लगायत ११ जनासम्म सदस्य रहने गरी समिति बनाउन निर्देशन दिएको छ। यसअघि एनआरएनएका युरोप संयोजक नारायण आचार्यले एनआरएनए युकेले सदस्यता भेरिफिकेशनको काम अध्यक्षले मात्रै गरिरहेको भन्ने जानकारी प्राप्त भएको र यदि विवाद उत्पन्न भए आफूले हस्तक्षेप गर्न बाध्य हुने चेतावनी दिएका थिए।
एनआरएनए उपाध्यक्ष मन केसीले सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण विभागको रिपोर्ट प्रस्तुत गरेका थिए। अध्यक्ष कुमार पन्तले आइएलओको सहयोगमा सञ्चालित परियोजनामा जो कोही पनि अनियमितताका लागि दोषी पाइएमा कारबाही गरिने प्रष्ट पारेका छन्।