समय अन्दाजी रातिको १०:३० बजे। स्थानः वीरगञ्ज–१४ गण्डक। वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ट्रकलाई प्रहरीले नियमित चेकजाँचको लागि रोक्छ। ट्रकको खानतलासी गर्छ। बिलविजक माग्छ र थोरबहुत केराकार पनि गर्छ।
ना३ख ७२१० नम्बरको ट्रकमा भएको समान नक्कली बिलविजक बनाएर ढुवानी गर्न लागिएको ‘सुराकी’ प्रहरीले पहिले नै पाएको थियो। त्यही सुराकीका आधारमा प्रहरीले ट्रक रोकेर छानवीन गरेको थियो।
छानवीनमा सुराकीले भनेजस्तै ४२ लाख रुपैयाँ बराबरको फर्जी बिल बनाएर सामान ढुवानी हुँदै गरेको पाइयो। पशुपति रोड केरियर्सको सो ट्रक, ट्रकका चालक सुरज सिंह र बरामद सामानलाई पर्सा प्रहरीले राजश्व अनुसन्धान कार्यालय पथलैया, बाराको जिम्मा लगाएको छ।
प्रहरीका अनुसार ट्रकमा कस्मेटिक, हार्डवेयर र किराना सामान थियो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बेलबहादुर पाण्डे भन्छन्, ‘हामीले पक्राउ गर्ने मात्र त्यसबाहेकको अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाएका छौं।’
तस्करीमा केही ट्रान्सपोर्ट पनि संलग्नः एसपी पाण्डे
वीरगञ्ज नाका अझै पनि नेपालको मुख्य नाकाकै रुपमा चिनिन्छ। भारतलगायत तेश्रो मुलुकबाट ‘बाईरोड’ नेपाल आयात हुने सयौं ट्रक–कन्टेनर सामान वीरगञ्जकै बाटो हुँदै दैनिक नेपाल भित्रिन्छन्।
यसरी नेपाल भित्रिने ट्रक–कन्टेनरमा कहिले गैरकानूनी रुपमा त कहिले गैरकानूनी समान नै लिएर भित्रिएको पनि पाइएको छ।
यसरी समान आयात–निर्यात तथा ढुवानी गर्नका लागि प्रायः विभिन्न ट्रान्सपोर्ट, लजिस्टिक कम्पनीका सवारीसाधन प्रयोग हुने गरेका छन्। यिनै ढुवानीकर्तामाथि ‘तस्करी’को आरोप पनि लाग्दै आएको छ।
आइतबार प्रहरीले नियन्त्रणमा लिएको ट्रक पनि पशुपति रोड केरियर्सको थियो, र यो ट्रान्सपोर्ट कम्पनीमाथि पनि बेलाबेलामा राजश्व छली र तस्करीमा संलग्नताको आरोप लाग्दै आएको छ।
‘यहाँ दर्जनौं ट्रान्सपोर्ट कम्पनीहरू छन्। ती सबैमाथि आरोप लगाउन त मिल्दैन, तै पनि केही ट्रान्सपोर्ट कम्पनीहरूको संलग्नता चाहिँ देखिन्छ,’ एसपी पाण्डेले भने।