गायक तथा संगीतकार श्रीमान थुलुङको स्मृतिमा तीन लाख रुपैयाँको अक्षयकोष स्थापनाको घोषणा गरिएको छ। थुलुङको दोस्रो वार्षिक स्मृति दिवसमा शुक्रबार किरात सेवा समाज, कास्कीले आयोजना गरेको कार्यक्रममा सो अक्षयकोषको घोषणा गरिएको हो।
किरात सेवा समाज, कास्कीको संरक्षकत्व रहने गरी स्थापना गरिएको अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष गायक थुलुङको स्मृति दिवसको अवसर पारेर गीत, संगीत क्षेत्रमा योगदान दिने स्रष्टालाई सम्मान गरिनेछ।
अक्षयकोषका लागि थुलुङकी धर्मपत्नी विमला राई संरक्षक, डीबी राई संयोजक र किरात सेवा समाज, कास्कीका अध्यक्ष वा अध्यक्षले तोकेको प्रतिनिधि अक्षयकोषको सदस्य हुनेछन्।
कार्यक्रममा बोल्दै पोखरा प्रज्ञा प्रतिष्ठान, कास्कीका कुलपति पद्मराज ढकालले भौतिक रुपले स्रष्टा नरहे पनि स्रष्टा कहिल्यै नमर्ने भनाइ राखे। स्रष्टा सधैं अमर हुने भन्दै उनले अक्षयकोषको स्थापनाले गायक एवं संगीतकार श्रीमान थुलुङलाई सधैं अमर राख्ने उल्लेख गरे।
समाजमा रहेका विकृति, विसंगतिहरू हटाउन स्रष्टाहरूको महत्त्वपूर्ण भूमिका हुने कुलपति ढकालको भनाइ थियो। किरात सेवा समाज, कास्कीका संरक्षक डा. लक्ष्मीप्रसाद राईले भौतिक शरीर नभए पनि गीत संगीतले श्रीमान थुलुङलाई सधैं बाँचिरहने बताए।
कार्यक्रममा चोमोलोङ्मा प्रतिष्ठान नेपालका अध्यक्ष जसिहाङ राई, सचिव सुरेश जमरकट्टेल, किरात सेवा समाज, कास्कीका वरिष्ठ सल्लाहकार गणेशबहादुर देवान, पूर्वाञ्चल सेवा समाज, कास्कीका अध्यक्ष गोपाल खड्का, संगीतकार नवराज बराल, स्मृतिमा श्रीमान थुलुङ स्मृति ग्रन्थका सम्पादक अनुराग अधिकारी र पूर्ण लामाले थुलुङ नेपाली संगीत क्षेत्रमा पुर्याएको योगदानबारे चर्चा गरे।
त्यस्तै, कार्यक्रममा किरात सेवा समाज, कास्कीका उपाध्यक्ष मनकुमार मुखिया र सचिव नवीन राईले पनि आ–आफ्नो भनाइ राखे। सो अवसरमा अक्षयकोषका संयोजक डीबी राईले अक्षयकोष स्थापनाका सन्दर्भमा आफ्नो राखे। गायक थुलुङकी धर्मपत्नी विमला राईले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरिन्।