नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालले समानान्तर कमिटी गठन गरिरहँदा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली नेकपा माओवादी केन्द्रका नेताहरूलाई आफ्नो समूहमा तान्न व्यस्त छन्।
नेता बामदेव गौतमले पनि साथ नदिएपछि शक्ति सन्तुलनका लागि ओलीले माओवादी नेताहरूलाई एमाले प्रवेश गराएर आफ्नो शक्ति केन्द्रीकृत गरेका हुन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्ट रहेका नेताहरू ओली क्याम्पमा पुगेका छन्।
सांसद् त्यागेर ओलीलाई साथ
नेकपा माओवादी केन्द्रका २ दर्जनभन्दा बढी नेतालाई ओलीले एमाले प्रवेश गराइसकेका छन्। प्रतिनिधिसभाका सदस्यहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले माओवादी त्यागेर एमाले प्रवेश गरेका छन्।
अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरी माओवादी परित्याग गरी एमाले प्रवेश गरेका हुन्। रायमाझी ऊर्जामन्त्री, भट्ट उद्योगमन्त्री, चौधरी श्रममन्त्री र प्रभु साह सहरी विकास मन्त्रीको जिम्मेवारीमा छन्।
यसबीचमा माओवादी नेता तथा प्रचण्डका विश्वास पात्र हरिबोल गजुरेललाई पनि एमालेमा भित्र्याउने गरी ओलीले छलफल चलाएको बालुवाटार श्रोतले बताएको छ।
राष्ट्रियसभाका सदस्य एवं गृहमन्त्री रामबहादुर थापा र चन्द्रबहादुर खड्का पनि ओली क्याम्पमा पुगेका छन्। यद्यपि, ओली समूहमा पुगेका सबै माओवादी सांसद्को पद रिक्त भइसकेको छ। यसाे त सांसद् नरहेका मणि थापा पनि ओलीकाे क्याम्पमा पुगेर खानेपानी मन्त्री बनेका छन्।
को–को छन् प्रदेशमा पनि एमाले प्रवेश गर्नेहरू?
माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गर्नेहरू प्रदेशमा पनि निकै छन्। प्रदेश नम्बर–२ का सांसद् रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीर पद जोखिममा पारेर एमाले प्रवेश गरेका छन्। प्रदेश २ मा माओवादीका ११ सांसद्मध्ये अब त्यो संख्या घटेर ७ पुगेको छ।
पाँचथरका प्रभावशाली माओवादी नेता एवं पूर्व राज्यमन्त्री श्रीप्रसाद जबेगू एमालेमा प्रवेश गरेका छन्। ताप्लेजुङका माओवादी नेता एवं प्रदेश सांसद् टंकबहादुर आङबुहाङ एमालेमा प्रवेश गरेर प्रदेश १ को अर्थमन्त्री बनेका छन्।
लुम्बिनी प्रदेशसभाका माओवादीका दुई सांसद् एमालेमा प्रवेश गरेका छन्। सांसद् दधिराम न्यौपाने र दिनेश पन्थी एमालेमा प्रवेश गरेका हुन्। कर्णाली प्रदेशका धर्मराज रेग्मी र सुदूरपश्चिम प्रदेशका झपट बोहरा पनि एमालेमा प्रवेश गरेको बालुवाटार श्रोतले बताएको छ।
‘अरु धेरै माओवादी नेताहरू एमालेमा प्रवेश गर्ने र प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिने मनसाय व्यक्त गरिरहनु भएको छ,’ श्रोतले भन्यो, ‘पार्टी प्रवेशको शिलशिला जारी रहन्छ।’