गण्डकी प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गरेको छ। प्रदेशसभाका चार राजनीतिक दलले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेश सरकारले अधिवेशन अन्त्य गरेको हो।
सरकारको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार मध्यरातिबाटै अधिवेशन अन्त्य गरेका हुन्। अधिवेशन अन्त्यसम्बन्धी पत्र बिहीबार बिहान प्रदेशसभामा पुगेको छ। बिहान १०ः३० बजे पत्र आइपुगेको प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिएका छन्।
प्रदेशसभाको अधिवेशन २५ चैतमा शुरु भएको थियो। वैशाख ६ गतेका लागि अर्को बैठक तोकिएको थियो। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बिहीबार मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका थिए।
मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएर नेपाली कांग्रेसले संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्ने तयारी गरेको थियो।