ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करण आयोजना हुँदैछ। उक्त प्रतियोगितामा सहभागी हुनका लागि डिजिटल अडिसनको भिडियो पठाउने मिति ३० अप्रिलसम्म तय गरिएको छ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् मध्यपूर्व क्षेत्रीय युवा समितिद्वारा आयोजना गर्न लागिएको ग्लोबल एनआरएन सिंगिङ आइडलमा सहभागी हुन इच्छुक प्रतियोगीहरूले भिडियो पठाइरहेको गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा समितिका संयोजक राज रेग्मीले जानकारी दिएका छन्।
रेग्मीका अनुसार प्राप्त भएका केही भिडियोहरुमा आयोजकले तोकिएको मापदण्ड पूरा नभएको पाइएको छ। ‘कतिपय सहभागीहरुले भिडियो त पठाउनुभएको छ तर, उहाँहरुले आयोजकले तय गरेका केही मापदण्डहरु पुरा गर्नुभएकाे छैन’, उनले भने, ‘सहभागीहरुमा केही द्विविधा रहेको पाइएको छ, त्यसैले हामीले उहाँहरुलाई कस्तो भिडियो कसरी पठाउने भनेर जानकारी दिन विभिन्न माध्यमबाट प्रचार गरिरहेका छौं। हामीले आधिकारिक फेसबुक पेजमा पनि केही स्याम्पल भिडियाेहरू राखेका छाैं।’
कस्तो भिडियो कसरी पठाउने ?
आयोजकले विदेशमा बस्ने ४० वर्ष सम्मका नेपालीहरुले सहभागी हुन पाउने जानकारी दिएको छ। उमेर हद न्यूनतम कति भनेर तोकिएको छैन।
सार्क मुलुकबाहेक अन्य देशमा बसोबास गर्दै आएका नेपाली सहभागी हुन पाउनेछन्। तर, सार्क मुलुक भए पनि म्यानमारमा भएका नेपाली भने सहभागी हुन पाउनेछन्। सहभागी हुन चाहाने प्रवासि नेपालीले ट्रयाकबिना गीत गाएको बढीमा ३ मिनेटको भिडियो पठाउनुपर्नेछ। तर, सहभागीले चाहेमा गिटार, मादल आदि बजाउन सक्ने संयोजक रेग्मीले जानकारी दिएका छन्।
सम्भव भएसम्म खुला ठाउँमा गएर सफा र प्रष्ट गीत गाएको भिडियो आफू रहेको देशको NRNA–NCC अथवा सिधै आयोजक कमिटीको इमेल ठेगाना [email protected] मा पठाउन सक्नुहुनेछ। स्मरण रहोस्, गीत गाउँदा शुरुमा आफ्नो नाम, उमेर र देश प्रष्टरुपमा उल्लेख गर्नुपर्नेछ। साथै प्रतिस्पर्धीले गीतको ओरिजिनल गायक–गायीका, संगीतकार एवं श्रस्टाको नाम भनेर मात्र गीत शुरु गर्नुपर्नेछ।
त्यस्तै, निर्णायकहरुमध्येका एक उदय सोतांगले प्रतियोगीतामा सहभागी हुन चाहानेलाई राम्रो क्वालिटिमा भिडियो पठाउन सुझाव दिएका छन्। ‘भर्चुअल्ली हुने भएकाले सहभागी हुन चाहने प्रतियोगी र हामी निर्णाण्कहरुलाई पनि अलिकति गारो हुन्छ,’ उनले भने, ‘निर्णायकहरु धेरै राम्रो हुनुहुन्छ। जजमेन्ट एकदम फेयर हुन्छ। प्रतियोगीहरुले अडिशनमा सकेसम्म भोइसलाई ध्यान दिने, धेरैचोटी रेकर्ड गरेर सुनेर पठाउँदा राम्रो हुन्छ।’
त्यस्तै, उनले गीत गाउँदा प्रनाउन्सेसन क्लियर हुनुपर्ने र गेटअफ पनि विशेष ध्यान दिए उत्कृष्ट हुने बताएका छन्। ‘म्युजिक ट्रयाक बजाउन नपाइने नियम छ। सहभागी हुन चाहाने प्रवासी नेपाललाई स्वागत छ। समय छ राम्रो तयारी गरेर आउनुहोला,’ गायक सोतांगले थपे।
३० अप्रिलसम्म प्राप्त गीतहरूलाई छनौट गरी उत्कृष्ट ५० जनालाई पहिलो राउण्डमा प्रवेश गराउंदै ५० जनालाई ५ मे २०२१ देखि अनलाईन भोटिङ्ग शुरु गरिनेछ। उत्कृष्ट पहिलोलाई रू ७,००,००० (रूपैयाँ सात लाख) पुरस्कार रहेको छ। त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ। ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने आयोजकले जानकारी दिएको छ।
मध्यपूर्व युवा संयोजक रेग्मीका अनुसार डिजिटल अडिसन अप्रिल ३० मा हुनेछ। ओपनिङ राउन्ड मे १४ र १५ तारिखमा हुने छ । ग्राण्ड फिनाले मे २१ तारिखमा सम्पन्न हुने रेग्मीले बताए। ग्लोबल सिंगिङ आइडल–२०२१ को निर्णायकहरुमा गायक उदय सोताङ, गायिका सुनिता दुलाल, गायिका प्राश्ना शाक्य र गायक विजय लामा रहेका छन्।