नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय हित विपरितका गतिविधिमा लागेको आरोप लगाएका छन्। शुक्रबार ‘बागमती प्रदेश कँराते च्याम्पियनसिप–२०२१’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीबाट देशलाई बन्धकी राख्ने तथा राष्ट्रिय हित विपरितका गतिविधि गर्ने काम भएको बताएका हुन्।
प्रधानमन्त्री राष्ट्रिय हित विपरितका गतिविधिमा संलग्न भएको खबरहरु आएको भन्दै उनले सो खबरले नेपालीको इज्जत, प्रतिष्ठा र राष्ट्रिय स्वाधिनतामाथि प्रश्न चिन्ह खडा गर्ने दुस्साहस भएको बताए।
नेपालीलाई राष्ट्रहित विरोधी षडयन्त्र स्वीकार नभएको पनि अध्यक्ष दाहालले बताए। ‘तानाशाही र निरङ्कुश शक्तिहरु एकचोटी परास्त भए तर तिनीहरु पुरै परास्त अझै भएका छैनन्। उनीहरुको कसरत, षड्यन्त्र नेपाल र नेपाली जनताका विरुद्ध चलिराखेको छ। देशलाई बन्धकी राख्ने, राष्ट्रिय हितका विपरित गतिविधि गर्ने काममा स्वयं सरकारका नेतृत्व गर्ने प्रमुखहरु नै लागेका खबरहरुले नेपाल र नेपाली जनताको इज्जत र प्रतिष्ठा, उनीहरुको आत्मसम्मान र राष्ट्रिय स्वाधिनतामाथि प्रश्नचिन्ह खडा गर्ने दुस्साहस भएको छ। तर सचेत नेपाली जनता, स्वस्थ नेपाली जनता, बलिष्ठ नेपाली जनतालाई यि सबै षड्यन्त्र स्वीकार्य छैन,’ उनले भने।
अध्यक्ष प्रचण्डले केही मानिसहरुले संघीयतालाई खारेज गर्ने र स्थानीय तहलाई दिएको अधिकार खोस्ने सपना देखेको पनि बताए। तर परिवर्तनलाई उल्ट्याउने कुरा नेपाली जनतालाई मान्य नहुने बताए। प्रचण्डले आर्थिक विकास र समृद्धिको लागि खेल क्षेत्रको भूमिका र महत्व बढ्दै गएको पनि बताए।