नेकपा एमालेका चार प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ। मुख्यमन्त्री शाहीले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा जम्मा २२ मत परेको र उक्त संख्या प्रदेशसभामा कायम रहेको सदस्य संख्याको बहुमत भएको सभामुख राजबहादुर शाहीले घोषणा गरेका हुन्।
शुक्रबार प्रदेशसभाको बैठकमा शाहीले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा २२ मत परेपछि उनको मुख्यमन्त्री पद जोगिएको हो।
प्रस्तावको विपक्षमा १५ मत परेको छ। मतदानमा प्रदेशसभाका ३९ सांसदमध्ये ३७ जना सहभागी भएका थिए।
प्रदेशसभामा शाहीको दल नेकपा माओवादी केन्द्रका १२ जना सांसद छन्। त्यस्तै, ६ सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको छ।
नेकपा एमालेका सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर थापाले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका छन्।
प्रदेशसभामा मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुने दिन नेकपा एमालेले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको थियो।
फ्लोर क्रस गर्ने सांसद ज्वाला र नन्दसिंह बुढा यसअघि शाही नेतृत्वको मन्त्रिपरिषदमा मन्त्री थिए। एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदले मुख्यमन्त्री शाहीलाई समर्थन गरेपछि प्रदेशसभामा नयाँ समीकरण बनेको छ।